–नन्दी केशर पौड्याल
राजनीतिक मंचमा धेरै नेताहरू देखिन्छन्, तर सबैको बोलीमा जीवनको वास्तविक अनुभव र दृढता हुँदैन। केही नेताहरू भाषणमा मिठास खोज्छन्, तर काममा गति ल्याउन सक्दैनन्। केही निर्णयको कुरा गर्दा अड्किन्छन्, केही त केवल पदमा बस्न जान्ने हुन्छन्। तर इन्द्रबहादुर बानियाँलाई म यस्तो कोटीमा राख्दिनँ। मैले उहाँलाई धेरै नजिकबाट चिनेको छु—नेपाली काँग्रेसको प्रदेश सभापतिको रूपमा मात्र होइन, लामो समयको व्यवसायिक सहयात्राका साथीको रूपमा। उहाँसँग बिताएका वर्षहरूमा मैले देखेको र बुझेको कुरा—बानियाँ बोल्न मात्र होइन, तत्काल निर्णय गरेर तुरुन्तै काममा उत्रिने स्वभावका व्यक्ति हुन्।
यात्रामा सँगै हिँड्दा, उद्योगधन्दाका चुनौतीहरूमा सँगै उभिँदा, कहिले कानुनी प्रक्रियाको गहिराइमा सँगै डुब्दा, कहिले बजारको अनिश्चितताको छालमा सँगै पौडिँदा—उहाँको स्वभावको एउटा विशेषता स्पष्ट देखिन्छ, त्यो हो—अडान। उहाँका कुरा चित्तबुझ्दो हुन्छन्, तर त्यो भन्दा ठूलो कुरा, उहाँका निर्णयहरू कार्यान्वयनमा ढिलाइ हुँदैन। म यति भन्दछु कि, इन्द्रबहादुरसँग यात्रा गर्नु भनेको गन्तव्य पुग्ने मात्र होइन, बाटोमै पनि सिक्ने अवसर पाउनु हो।
आजको नेपालमा जातीय विभाजनको राजनीति बोलिन्छ, कहिले जनजातिलाई अलग्याउने, कहिले बाहुन–छेत्रीलाई बदनाम गर्ने प्रयास हुन्छ। तर बानियाँलाई मैले कहिल्यै यस दिशामा कदम चाल्दा देखिनँ। उहाँको सोच सधैं एउटै—जात होइन, कामको मूल्यांकन हो। उहाँ भन्छन्, ‘राम्रो गर्नेले नेतृत्व पाउँछ, गलत गर्ने जनताले हटाउँछन्।’ यो सरल तर गहिरो दर्शन हो, जुन आजको राजनीतिक संस्कृतिमा झनै दुर्लभ छ।
नेता बन्ने हो भने सुन्दर व्यक्तित्व मात्र होइन, लोकप्रियता र कामको नतिजा चाहिन्छ। मैले उहाँमा यी तीनै कुरा देखेको छु। जनतामाझको लोकप्रियता होस्, सहकर्मीहरूमाझको विश्वास होस्, वा प्रतिस्पर्धीहरूसँगको मर्यादित व्यवहार—उहाँ सधैं सन्तुलित देखिनुहुन्छ। खासगरी व्यवसायिक सहकार्यको क्रममा उहाँको इमानदारी, पारदर्शिता र कानुनको सम्मान गर्ने बानी मलाई सबैभन्दा बढी मन पर्छ। उहाँको उद्योगमा पारदर्शिता छ, कर समयमा तिर्छन्, रोजगारी सिर्जना गर्छन्, र प्रतिस्पर्धीलाई पनि प्रतिद्वन्द्वी मात्र होइन, सहयात्रीका रूपमा हेर्छन्।
नेपालमा एउटा गलत सोच छ—व्यवसाय गर्नेले राजनीति गर्नु हुँदैन। तर म भन्छु, व्यवसायमै इमानदार भएको, राज्यलाई कर तिरेको, रोजगार सिर्जना गरेको मानिसले नै राजनीति गर्दा देश फाइदा पाउँछ। संसारका धेरै मुलुकमा सफल व्यवसायीहरू नै राम्रो राजनीतिज्ञ बनेका छन्। हाम्रो समाजमा त बरु उल्टै, कुनै पेशा नगरी केवल राजनीतिक पहुँचकै भरमा जीवन गुजार्नेहरू बढी छन्। त्यसैले बानियाँजस्ता व्यवसायी–नेताहरूको आलोचना होइन, समर्थन गर्नुपर्छ।
अहिले बागमती प्रदेशको नेतृत्व उहाँका काँधमा आएको छ। यो केवल पद होइन, अवसर पनि हो—प्रदेशको मुहार परिवर्तन गर्ने। हामीसँग साझा अनुभवहरू छन्—कसरी योजना बनाउनुपर्छ, कसरी जोखिम लिनुपर्छ, कसरी अवरोध तोड्नुपर्छ। म जान्दछु, उहाँका निर्णयहरूमा ढिलाइ हुँदैन। यस अघिका केही मुख्यमन्त्रीहरू जस्तो गुमनाम र निष्क्रिय शासन उहाँको शैली होइन। उहाँको भाषणमा झल्किने ऊर्जा र जीवन्तता शासनको काममा पनि झल्कोस् भन्ने मेरो अपेक्षा छ।
तर समाजमा एउटा रोग फैलिएको छ—विरोधका लागि मात्र विरोध गर्ने बानी। सामाजिक सञ्जालमा अझ बढी देखिन्छ—कसैलाई च्यापेर आलोचना गर्ने, भ्रम फैलाउने, अफवाह बनाउने। तर लोकतन्त्रमा आलोचना आवश्यक भए पनि त्यो तथ्यमा आधारित, मर्यादित र समाधानमुखी हुनुपर्छ। अझै सरकार गठनको प्रारम्भिक चरणमा, संवैधानिक प्रक्रियाअनुसार विपक्षीले विश्वासको मत दिनु सामान्य कुरा हो। यसलाई पनि राजनीतिक विवादको रंगमा रंगिनु आवश्यक छैन।
हामी सबैलाई थाहा छ—बागमती प्रदेशमा रोजगारी, पूर्वाधार, स्वास्थ्य, शिक्षा र सुशासनका चुनौतीहरू छन्। तर म विश्वास गर्छु, इन्द्रबहादुर बानियाँ जस्ता नेतृत्वको हातमा यी चुनौतीहरू अवसरमा बदलिन सक्छन्। उहाँको योजना बनाउने शैली, तत्काल कार्यान्वयन गर्ने स्वभाव र लामो दृष्टिकोणले प्रदेशमा सकारात्मक परिवर्तन ल्याउन सक्छ।
अन्ततः, नेतृत्वलाई अवसर दिनु लोकतन्त्रको संस्कार हो। हामीले उहाँलाई विश्वासको हात दिनुपर्छ। समय नै उहाँको मूल्यांकन गर्नेछ—राम्रो गरे जनताले सम्मान गर्नेछन्, गलत गरे सजिलै हटाउनेछन्। मेरो व्यवसायिक सहयात्रामा जस्तै, राजनीतिक यात्रामा पनि उहाँले विश्वासलाई कहिल्यै भंग नगरोस् भन्ने मेरो शुभकामना छ। किनकि, जब नेतृत्वमा बहादुरी, इमानदारी र काम गर्ने साहस हुन्छ—देशको बाटो अवश्य नै विकासतर्फ मोडिन्छ।



























































