काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले मुलुकमा स्थापित भएका महत्वपूर्ण परिवर्तनलाई संस्थागत एवं प्रभावकारी कार्यान्वयन गर्न कांग्रस दृढ रहेको बताएका छन् ।
शुक्रबार सानेपामा नेपाल राष्ट्रिय मगर सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै सभापति देउवाले कांग्रेसको नेतृत्वमा प्राप्त भएको ऐतिहासिक उपलब्धिहरू गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता, समानुपातिक र समावेशिताको प्रभावकारी कार्यान्वयनमा दृढ रहेको बताएका हुन् ।
कांग्रेस सबै जातजाति, भाषाभाषी एवं हरेक क्षेत्रका नागरिकको विश्वासको केन्द्र भएको भएकाले आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, पिछडिएको क्षेत्र एवं वर्गको सशक्तीकरणका लागि निरन्तर क्रियाशील रहेको उनले जनाए ।
सभापति देउवाले मगरलगायत आदिवासी जनजातिको छुट्टै पहिचान दिने र सशक्तीकरण गर्न आफ्नै नेतृत्वमा रहेको सरकारले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान गठन गरेर बिपी कोइरालाले सुरुआत गरेको समावेशीकरणमा इँटा थप्ने काम गरेको धारणा राखे ।
उनले पार्टीभित्र पछाडि परेका समूदायको प्रतिनिधित्व सुनिश्चित गर्न कांग्रेसलाई देशकै समावेशी पार्टीका रुपमा विकास गरिएको उल्लेख गरे ।
मगर सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै शनिबार सम्पन्न हुने बताइएको छ ।


























































