काठमाडौँ– बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बहादुर बानियाँले तामाङ पत्रकारिताको प्रवर्द्धनका लागि व्यक्तिगत रूपमा नगद दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।
३१औं तामाङ प्रसारण दिवसको अवसरमा आइतबार हेटौंडामा आयोजित अन्तर्क्रिया तथा तामाङ पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले उक्त सहयोगको घोषणा गरेका हुन् । कार्यक्रममा उनले स्पष्ट रूपमा भने, ‘गुलामी गर्न मेरो सहयोग होइन, तामाङ भाषा, पत्रकारिता र संस्कृतिको प्रवर्द्धनका लागि हो।’
मुख्यमन्त्री बानियाँले प्रदेश सरकारको तर्फबाट पनि तामाङ भाषा र पत्रकारिताको संरक्षण तथा विकासका लागि आवश्यक सहयोग गरिने प्रतिबद्धता जनाए ।
कार्यक्रममा तामाङ पत्रकार संघ बागमती प्रदेश कमिटीले स्थापना गरेको आईतेसिं (बुद्धिमाया) स्मृति तामाङ पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार अर्जुन बहादुर ग्लान तामाङलाई प्रदान गरियो। साथै, मकवानपुर जिल्ला कमिटीले पत्रकार तथा समाजसेवी राजेश रुम्बाको सहयोगमा स्थापना गरेको तामाङ पत्रकारिता पुरस्कार भुवन घलान तामाङलाई प्रदान गरिएको थियो।
संघको बागमती प्रदेश कमिटी अध्यक्ष ज्ञानेन्द्र तामाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा मुख्यमन्त्री बानियाँको उपस्थितिमा तामाङ पत्रकारिताको योगदान र भावी सम्भावनाहरूका बारेमा व्यापक छलफल भयो।
त्यसैगरी, बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयको सहकार्यमा “बागमती प्रदेश सरकारी कामकाजको भाषा ऐनको प्रभावकारी कार्यान्वयनमा सरोकारवालाको भूमिका” विषयमा विशेष अन्तर्क्रिया समेत आयोजित गरिएको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले मातृभाषा पत्रकारिता, भाषिक अधिकार, संस्कृतिको संरक्षण र पत्रकारिता क्षेत्रको दिगो विकासमा प्रदेश सरकारले नीति, योजना र बजेटमार्फत ठोस पहल गर्नुपर्नेमा जोड दिएका थिए।


























































