काठमाडौं- साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा गिरावट आएको छ । अघिल्लो दिन सामान्य सुधार देखिएको नेप्से परिसूचक आज १०.८९ अंकले घटेर २ हजार ६ सय ३६ विन्दुमा झरेको हो ।
बजार परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ । बुधबार ६ अर्ब १४ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ५ अर्ब ४८ करोड रुपैयाँमा सीमित भएको छ ।
आज कारोबार भएका कम्पनीमध्ये ८६ वटाको सेयर मूल्य बढ्दा १७९ वटाको घटेको छ भने १४ कम्पनीको मूल्य स्थिर रहेको छ ।
समूहगत परिसूचकतर्फ लगानी समूहबाहेक सबै समूह ओरालो लागेका छन् । लगानी समूह ०.७२ प्रतिशतले बढ्दा व्यापार समूह सबैभन्दा धेरै १.५२ प्रतिशतले घटेको छ ।
आज युनिक नेपाल लघुवित्तको सेयर मूल्य सर्वाधिक ४.८८ प्रतिशतले बढेको छ भने एभरेस्ट कलरको मूल्य सर्वाधिक ४.६० प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा हिमालय ऊर्जा विकास कम्पनी शीर्ष स्थानमा रहेको छ ।



























