नयाँ दिल्ली– भारत–चीनबीच लिपुलेक पासमार्फत पुनः सुरु भएको सीमावर्ती व्यापारका विषयमा नेपाल सरकारको परराष्ट्र मन्त्रालयले व्यक्त गरेका टिप्पणीहरूमा भारतको विदेश मन्त्रालयले औपचारिक प्रतिक्रिया जनाएको छ।
भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भारत–चीनबीच लिपुलेक पासमार्फत पुनः सुरु भएको सीमावर्ती व्यापारबारे नेपाल सरकारको परराष्ट्र मन्त्रालयले व्यक्त गरेका टिप्पणीहरूलाई ध्यानपूर्वक अवलोकन गरेबो बताएका छन् ।
यस सम्बन्धमा भारतको दृष्टिकोण सधैं स्पष्ट र स्थिर रहँदै आएको बताउदैँ उनले सन् १९५४ मा सुरु भएको लिपुलेक पासमार्फत सीमावर्ती व्यापार दशकौँदेखि निरन्तर सञ्चालनमा रहँदै आएको जनाएका छन ।
भू–सीमाका दाबीहरूको कुरामा उनले लेखेका छन्, ‘भारतको अडान स्पष्ट छ — यस्ता दाबीहरू ऐतिहासिक तथ्य तथा प्रमाणमा आधारित छैनन् र तिनीहरू न्यायोचित पनि होइनन्। एकपक्षीय रूपमा कृत्रिम सीमा विस्तार अस्वीकार्य छ।’
साथै उनले नेपालसँग बाँकी रहेका सहमत सीमासम्बन्धी मुद्दाहरू समाधान गर्न भारत संवाद र कूटनीतिक माध्यममार्फत सकारात्मक रूपमा संलग्न रहनइच्छुक रहेको समेत बताएका छन् ।
यो वक्तव्य लिपुलेक क्षेत्रसँग सम्बन्धित पछिल्ला घटनाक्रमहरूपछि आएको हो। भारत, नेपाल र चीनको त्रिवेणी सीमावर्ती क्षेत्रमा पर्ने लिपुलेक पछिल्ला वर्षहरूमा कूटनीतिक चासोको विषय बनिँदै आएको छ।



























































