ललितपुर – महालक्ष्मी नगरपालिकाले नगरभित्रको सडक पूर्वाधार विकास तथा स्तरोन्नतिलाई प्राथमिकतामा राख्दै विभिन्न क्षेत्रमा निर्माण तथा सुधारका कामलाई तीव्रता दिएको छ।
यसैक्रममा महालक्ष्मी नगरपालिका वडा नं. ५ स्थित राधाकृष्ण चोकको भित्री सडकमा भइरहेको ढलान कार्यको नगर प्रमुख हरिगोविन्द श्रेष्ठले स्थलगत निरीक्षण तथा अनुगमन गरेका छन्।
निर्माणाधीन सडकको अवस्थाबारे जानकारी लिन नगर प्रमुख श्रेष्ठले निर्माणस्थलमै पुगेर भइरहेको कामको प्रगति तथा निर्माण प्रक्रियाको अवलोकन गरेका हुन्। निरीक्षणका क्रममा उनले सडक ढलानको अवस्था, निर्माण कार्यको गुणस्तर र प्रगतिबारे जानकारी लिएका छन्।
नगरपालिकाले स्थानीय बासिन्दाको दैनिक आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यसहित भित्री तथा सहायक सडकहरूको स्तरोन्नतिलाई प्राथमिकतामा राखेको छ। सडक पूर्वाधारको विकासले स्थानीय नागरिकको जीवनशैली सहज बनाउनुका साथै नगरको समग्र विकास र सहरी सौन्दर्यमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
राधाकृष्ण चोकको भित्री सडकमा ढलान कार्य सम्पन्न भएपछि स्थानीय बासिन्दाले वर्षायाममा हुने हिलो र अन्य समयमा हुने धुलोको समस्याबाट राहत पाउने तथा आवागमन थप सहज हुने विश्वास गरिएको छ।
नगरभित्र सञ्चालन भइरहेका विकास निर्माणका योजनालाई प्रभावकारी, गुणस्तरीय र समयमै सम्पन्न गराउने उद्देश्यले नगर प्रमुख श्रेष्ठले स्थलगत निरीक्षण तथा अनुगमनलाई प्राथमिकता दिएका छन्। नगरपालिकाले आवश्यकताका आधारमा सडक तथा अन्य आधारभूत पूर्वाधार विकासका योजनालाई क्रमशः अघि बढाउँदै आएको छ।
स्थानीय आवश्यकतालाई सम्बोधन गर्दै गुणस्तरीय पूर्वाधार निर्माणमार्फत नगरवासीलाई सहज र व्यवस्थित सहरी वातावरण उपलब्ध गराउने महालक्ष्मी नगरपालिकाको लक्ष्य रहेको छ।



























