काठमाडौँ – भारतको आसामको प्रदेश स्तरीय टोलीविरुद्ध नेपाली राष्ट्रिय क्रिकेट टिमको ‘ए’ टोलीले पहिलो जित हात पारेको छ । नेपाल ‘ए’ले आसामलाई शुक्रबार ९६ रनले हराएको हो ।
आसामको फुलुङस्थित एसीए क्रिकेट ग्राउण्डमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७३ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको आसाम १५.२ ओभरमा ७७ रनमै अलआउट भएको हो ।
आसामलाई सस्तैमा समेट्ने क्रममा युवा लेग स्पिनर युवराज खत्री र बायाँ हाते स्पिनर बासिर अहमदले शानदार बलिङ गरे । सो क्रममा युवराजले ३.२ ओभरमा १५ रन खर्चिएर ४ विकेट चट्काए भने अलराउन्ड प्रदशर्न गरेका बासिरले बलिङतर्फ ४ ओभरमा २६ रन खर्चिएर ३ विकेट तथा ब्याटिङतर्फ १६ बलमा २७ रन हाने ।
यस्तै आकाश चन्द, विवेक यादवले समान १–१ विकेट लिए ।
यसअघि ब्याटिङतर्फ नेपालका सन्दीप जोराले २३ बलमा सर्वाधिक ३५ रन बनाए भने देव खनालले ३५ बलमा ३१ तथा पवन सर्राफले २३ बलमा ३१ रन जोडे । यसअघि ब्याटिङतर्फ नेपालका सन्दीप जोराले २३ बलमा सर्वाधिक ३५ रन बनाए भने देव खनालले ३५ बलमा ३१ तथा पवन सर्राफले २३ बलमा ३१ रन जोडे ।
पहिलो खेलमा डीएलएस मेथडमा १५ रनले हार व्यहोरेको नेपाल ‘ए’ले तेस्रो खेल भोलि खेल्नेछ । आसामसँग नेपाल ‘ए’ले ५ वटा टी–२० खेल खेल्ने तालिका रहेको छ ।



























































