जनकपुर- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको सांगठनिक सुदृढीकरण, जनआन्दोलनको विस्तार र पार्टी निर्माणलाई उच्च प्राथमिकतामा राखेर अघि बढिरहेको बताएका छन्।


ADVERTISEMENT


बुधबार जनकपुरमा आयोजित नेकपा मधेश प्रदेश एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले मधेश प्रदेशमा पार्टीलाई बलियो बनाउन सकिए समग्र देश र कम्युनिस्ट आन्दोलनलाई ठूलो ऊर्जा मिल्ने बताए। उनले मधेशमा संगठन कमजोर भए त्यसको असर राष्ट्रिय राजनीतिमा समेत पर्ने भएकाले यहाँ पार्टी निर्माणलाई विशेष अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।


ADVERTISEMENT

# # #


प्रचण्डले पार्टी एकतापछि संगठन विस्तार, जिम्मेवारी बाँडफाँड र कार्यविभाजनका क्रममा केही कमजोरी भएको स्वीकार गर्दै त्यसलाई सुधार गर्ने प्रतिबद्धता जनाएका छन्। नेता तथा कार्यकर्ताबीच देखिएका असन्तुष्टि र गुनासोलाई गम्भीरतापूर्वक लिएर आवश्यक पुनरावलोकन गरिने उनले बताएका छन्।

उनले पार्टीभित्र अनुशासन, एकता र आपसी विश्वास कायम गर्दै जनतासँगको सम्बन्धलाई अझ मजबुत बनाउनुपर्ने उल्लेख गरेका छन्। जनताको अपेक्षाअनुसार संगठनलाई सक्रिय, प्रभावकारी र जनमुखी बनाउने दिशामा नेतृत्व प्रतिबद्ध रहेको उनको भनाइ छ।

प्रचण्डले नेता तथा कार्यकर्तालाई व्यक्तिगत स्वार्थभन्दा पार्टी र आन्दोलनको हितलाई केन्द्रमा राखेर काम गर्न आग्रह गर्दै मधेश प्रदेशलाई पार्टीको महत्वपूर्ण आधार क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताएका छन्। साथै, कार्यविभाजन र जिम्मेवारी वितरणबारे उठेका गुनासोको उचित सम्बोधन गर्दै सबैलाई समेटेर पार्टीलाई थप सुदृढ बनाइने विश्वास व्यक्त गरेका छन्।