काठमाडौँ – दूधको भुक्तानी नपाएको भन्दै दूग्ध किसानहरुले काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी) को कार्यालयमा धर्ना दिएका छन् ।
लामो समयदेखि दूधको भुक्तानी नपाएको भन्दै दूग्ध किसानहरुले आइतबार डीडीसी को कार्यालय बाहिर धर्ना दिएका हुन् । धर्ना दिनका लागि दूग्ध किसान कार्यालय परिसरमा प्रवेश गर्न खोजेका थिए, तर प्रहरीले उनीहरुलाई बाहिर रोकेपछि केहिबेर प्रहरी र दूग्ध किसानहरुबीच घम्साघम्सी समेत भएको थियो ।
दूधको मूल्य भुक्तानीका बारेमा दुग्ध विकास संस्थान लगायत सरोकारवाला निकायलाई पटक पटक ध्यानाकर्षण गराउदा पनि भुक्तानी नभएकाले डीडीसीको कार्यालयमा धर्ना दिनुपरेको अखिल नेपाल किसान महासंघकी महासचिव सरिता भुसालले जानकारी दिइन् । आफूहरुको मागका लागि ध्यानाकर्षण गराउन खोज्दा प्रहरी लगाएर दमन गर्न खोजिएको भन्दै उनले आपत्ति जनाइन् ।
उनले अहिले दूग्ध किसानहरुको तीन अर्व भन्दा बढी बक्यौता भुक्तानी गर्न बाँकी रहेको बताइन् । दूधको बक्यौता रकम भुक्तानी नगरेकाले जिविकोपार्जन गर्न समेत समस्या भएको किसानहरुले गुनासो गरेका छन् ।



























































