ललितपुर- पाटन उच्च अदालतले आर्थिक वर्ष २०८२/८३ मा तय गरिएको लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट गर्दै उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ।


ADVERTISEMENT


शुक्रबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा अदालतले आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यसम्पादन सार्वजनिक गर्दै कुल ७१ दशमलव ०५ प्रतिशत मुद्दा फर्छ्योट गरिएको जानकारी दिएको हो। अदालतले उक्त आर्थिक वर्षका लागि ६६ प्रतिशत मुद्दा फर्छ्योट गर्ने लक्ष्य राखेको थियो।


ADVERTISEMENT

# # #


मुख्य न्यायाधीश लालबहादुर कुँवरका अनुसार आर्थिक वर्ष २०८१/८२ बाट ५ हजार ६६९ मुद्दा जिम्मेवारी सरेका थिए। समीक्षा अवधिमा थप १० हजार ५३० नयाँ मुद्दा दर्ता भएका थिए। यससँगै अदालतमा कुल १६ हजार १९९ मुद्दाको जिम्मेवारी रहेकोमा ११ हजार ४६९ मुद्दा फर्छ्योट गरिएको छ।

मुख्य न्यायाधीश कुँवरले अदालतले न्यायपालिकाको पाँचौँ रणनीतिक योजना र पाटन उच्च अदालतको वार्षिक कार्ययोजनाअनुसार कार्यसम्पादन गर्दै लक्ष्यभन्दा राम्रो नतिजा हासिल गरेको बताए। प्रतिस्पर्धात्मक तथा सामूहिक कार्यसम्पादनको अभ्यासका कारण अदालतले सकारात्मक उपलब्धि हासिल गर्न सफल भएको उनको भनाइ छ।

उनका अनुसार पाटन उच्च अदालतको इतिहासमै पहिलो पटक १८ महिना र दुई वर्षभन्दा बढी पुराना कुनै पनि मुद्दा बाँकी नरहने अवस्था सिर्जना भएको छ। साथै नयाँ दर्ता भएका मुद्दाभन्दा बढी संख्यामा मुद्दा फर्छ्योट भएकाले विगतका वर्षहरूको तुलनामा जिम्मेवारी सर्दै जाने मुद्दाको संख्या पनि उल्लेखनीय रूपमा घटेको अदालतले जनाएको छ।

अदालतले आगामी दिनमा पनि छिटो, प्रभावकारी र गुणस्तरीय न्याय सम्पादनलाई प्राथमिकतामा राख्दै कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।