काठमाडौं- शाङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत दार्चुलाका ९ जनाको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया सम्पन्न गराएको छ।
बैंकको आर्थिक सहयोग तथा सहजीकरणमा वैशाख २९ र ३० गते दार्चुला जिल्ला अस्पताल र दुहुँ गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा मोतियाबिन्दु भएका ११ जना बिरामी पहिचान भएका थिए। तीमध्ये ९ जनाको डडेलधुरा स्थित गेटा आँखा अस्पतालमा सफल शल्यक्रिया गरिएको बैंकले जनाएको छ।
बाँकी दुई जनालाई पनि अस्पताल लगिए पनि स्वास्थ्य अवस्थाका कारण तत्काल शल्यक्रिया गर्न नसकिएको जनाइएको छ।
शिविरमार्फत ७ सयभन्दा बढी स्थानीयको निःशुल्क आँखा परीक्षण गरिएको थियो। साथै ४८७ जनालाई निःशुल्क चस्मा तथा ६ सय जनालाई आवश्यक औषधि वितरण गरिएको बैंकले जनाएको छ।
शाङ्ग्रिला डेभलपमेन्ट बैंकले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्दै समुदायप्रति आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको जनाएको छ।
हाल बैंकले देशभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ। बैंकले सुशासन, प्रभावकारी जोखिम व्यवस्थापन तथा गुणस्तरीय बैंकिङ सेवासँगै आगामी दिनमा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।



























































