काठमाडौँ – रुपन्देही निर्वाचन–३ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उम्मेदवारमा डा. लेखजंग थापा बनेका छन् । आगामी कात्तिक १७ गते प्रतिनिधिसभा सदस्यका लागि रास्वपाले थापालाई उम्मेदवारका रुपमा अघि सारेको हो ।
उम्मेदवार छनोटका लागि गरिएको ३५ दिन लामो प्रक्रियापछि अन्ततः थापाले बाजी मारेका हुन् । रुपन्देहीको सिदार्थनगर नगरपालिका–९, अञ्चलपुरमा जन्मिएका डा. लेखजंग थापा वरिष्ठ न्युरोलोजिष्ट, अभियन्ता र सामाजिक व्यक्तित्व हुन् । नेपाली न्युरो साइन्सको विकास र बिरामी उपचारमा १६ वर्षभन्दा बढी समय बिताएका उनी एक चिकित्सक हुन् ।
पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट इन्टरनल मेडिसिनमा एमडी र कलेज अफ मेडिकल साइन्सेज चितवनबाट डीएम न्यूरोलोजी अध्ययन गरेका डा. थापा अमेरिकाको प्रसिद्ध हार्वार्ड विश्वविद्यालयको ‘सेफ्टी क्वालिटी लिडरसीप एण्ड इन्फमेटिभ’का ग्राजुएट्स हुन् ।
एक विद्वान चिकित्सकको छबि बनाएका डा. थापा अनुसन्धानकर्मी समेत हुन् । उनका ८० वटाभन्दा बढी अनुसन्धानात्मक पेपरहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित छन् ।
नेपाल स्ट्रोक एशोसिएसनका संस्थापक अध्यक्षसमेत रहेका डा. थापाले स्ट्रोकको उपचार, निदान र सचेतनामा अतुलनीय योगदान पुर्याएका छन् । उनकै टीमको पहलमा बनाइएको राष्ट्रिय स्ट्रोक उपचार व्यवस्थापन प्रोटोकलसमेत केही दिन अघि जारी भएको छ । जसलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेसमेत स्वीकृत गरेको छ ।
डा. थापाले आफ्नै पहलमा नेपालका हजारौँ चिकित्सक,नर्स र स्वास्थ्यकर्मीहरुलाई ‘स्ट्रोक मास्टर क्लास’ मार्फत स्ट्रोकको पहिचान, उपचार र सचेतनासम्बन्धि तालिम दिँदै आएका छन् ।



























































