काठमाडौं- पोखरा भारत र नेपालबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यसहित ऊर्जा क्षेत्र सहकार्य सम्बन्धी संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त कार्यदल (जेडब्ल्युजी) को १३औँ बैठक पोखरामा सम्पन्न भएको छ।


ADVERTISEMENT


संयुक्त निर्देशक समितिको बैठक भारत सरकारको विद्युत मन्त्रालयका सचिव पंकज अग्रवाल र नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडीको सह-अध्यक्षतामा सम्पन्न भएको हो। त्यसअघि संयुक्त कार्यदलको बैठक भारतका सहसचिव (प्रसारण) पंकज कुमार र नेपालका सहसचिव सन्दीप कुमार देवको सह-अध्यक्षतामा बसेको थियो।


ADVERTISEMENT

# # #


बैठकमा जलविद्युत् आयोजनाको विकास, सीमापार विद्युत् व्यापार, प्रसारण पूर्वाधार विस्तार तथा ऊर्जा क्षेत्रमा भइरहेका द्विपक्षीय सहकार्यको विस्तृत समीक्षा गरिएको थियो। विशेषगरी ४०० केभी गोरखपुर–न्यू बुटवल प्रसारण लाइनसहित विभिन्न प्रसारण आयोजनामा भएको प्रगतिप्रति दुवै पक्षले सन्तुष्टि व्यक्त गरेका छन्।

त्यसैगरी, निर्माणाधीन तथा प्रस्तावित विद्युत् उत्पादन र प्रसारण आयोजनाको कार्यान्वयनलाई तीव्रता दिने, भारतीय र नेपाली विद्युत् ग्रिडको समन्वयात्मक सञ्चालन, सौर्य ऊर्जा विकास, हरित हाइड्रोजनमा सहकार्य तथा नेपाली प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धिका विषयमा समेत विस्तृत छलफल भएको बताइएको छ।

बैठकअघि भारतका विद्युत् सचिव पंकज अग्रवालले नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठसँग शिष्टाचार भेट गर्दै ऊर्जा सहकार्यका विविध पक्षमा विचार आदानप्रदान गरेका थिए।

दुवै देशका प्रतिनिधिहरूले बैठकमा भएका सहमतिहरूले नेपाल–भारत ऊर्जा साझेदारीलाई अझ प्रभावकारी, दिगो र परिणाममुखी बनाउने विश्वास व्यक्त गरेका छन्।