राहुल गुप्ता, बारा– बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित अमलेखगंजमा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ।
शुक्रबार दिउँसो करिब १ बजे इलाका प्रहरी कार्यालय अमलेखगंजअगाडिको चेकपोइन्टमा चेकजाँचको क्रममा प्रहरीले बा २ ख ९५६९ नम्बरको मिनि ट्रकबाट २३६ किलो ७५० ग्राम गाँजा बरामद गरेको हो।
प्रहरीका अनुसार ट्रकको छतमाथि फल्स बटम बनाइएको थियो, जसलाई ट्रिपालले छोपेर लुकाइएको अवस्थामा २८ पोका गाँजा प्लास्टिकमा प्याक गरी राखिएको थियो।
उक्त ट्रक मकवानपुरबाट वीरगञ्जतर्फ जाँदै गरेको अवस्थामा रोकि जाँच गरिएको थियो। चेकजाँच प्रहरी नायब निरीक्षक (सई) धन प्रसाद श्रेष्ठको कमाण्डमा खटिएको टोलीले गरेको हो।
गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा मकवानपुर कैलाश गाउँपालिका–१० निवासी ३८ वर्षीय रमेश रुम्बा (सानुलाल रुम्बाको छोरा) लाई नियन्त्रणमा लिइएको छ।
पक्राउ परेका व्यक्ति, बरामद मिनि ट्रक र गाँजा अहिले इलाका प्रहरी कार्यालय अमलेखगंजमा राखिएको र आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।


























































