काठमाडौं– सञ्चार तथा सूचनाप्रविधिमन्त्री जगदीश खरेलले जेनजी प्रदर्शनका घाइतेहरुसँग भेट गरेका छन् । त्रिवि शिक्षण अस्पतालमा उपचाररत घाइते र उनीहरुका अभिभावकसँग मन्त्री खरेलले आज भेट गरेका हुन् ।


ADVERTISEMENT


अस्पतालमा पुगरे घाइतेहरुको स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग जानकारी लिँदै उपचारमा कुनै कसूर बाँकी नराख्न उनले आग्रह गरे । घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दै उनले घाइतेहरुका पक्षमा भविष्यमा के गर्न सकिन्छ भन्ने विषयमा सरकार गम्भीर रहेको बताए । मन्त्री खरेलले जेनजी प्रदर्शनको जगमा बनेको सरकारले सहिद र घाइतेहरुको मागअनुसार काम गर्ने प्रतिबद्धता जनाए ।


ADVERTISEMENT

# # #


“अहिलेको हाम्रो प्राथमिकता घाइते हुनुभएका सबै जना छिटो निको भई घर फर्किनुहोस भन्ने हो । त्यसपछि सहिद र घाइतेका पक्षमा भविष्यमा केके गर्न सकिन्छ, हामी सोच्दैछौँ”, मन्त्री खरेलले भने, “हामी सबै मन्त्रीहरु एकै पटक आएका छैनौँ । फरक फरक समयमा आएर घाइतेहरुको अवस्था बुझिरहेका छौँ । यसो गर्दा घाइतेहरुको पछिल्लो अवस्थाबारे जानकारी लिनसँगै मन्त्रिपरिषद्मा यस विषयमा खबर पुर्याउने हाम्रो उद्देश्य हो ।”

आफूहरुलाई भेट्न अस्पतालको शय्यासम्म आइपुग्नु भएका मन्त्री समक्ष घाइतेहरुले सबै जनेजीको योगदानलाई स्मरण गर्दै मागहरुको कार्यान्वयन गर्न सुझाव दिएका छन् । जेनजी प्रदर्शनमा घाइते भएका रवि भण्डारीले जेनजीको बलिदानलाई नबिर्सिन आग्रह गरे ।

“आन्दोलनमा सहादत प्राप्त गर्नेहरुको योगदानलाई खेर जान नदिन देशलाई निकास दिनुपर्यो”, सिन्धुलीका २९ वर्षीय भण्डारीले मन्त्री खरेलसमक्ष भने, “म परिवारको जेठो छोरो हुँ । मैले पठाओे गरेर परिवारको जिम्मेवारी सम्हाल्दै आएको थिएँ । अहिले म अस्पतालको शय्यामा छु । मेरो भविष्यसँगै परिवारको आर्थिक अवस्था धराशयी भएको छ ।”

जेनजी प्रदर्शनमा घाइते भई अस्पताल पुगेका  दुई हजार ३१६ जनामध्ये उपचार पश्चात दुई हजार २१२ जना घर फर्किसकेका छन् । बाँकी घाइतेहरु विभिन्न १८ अस्पतालमा उपचाररत छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार उपचाररत घाइतेहरुको सङ्ख्या ५६ रहेको छ ।