काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता वलेन्द्र शाह सहभागी भएका छन्। उद्घाटन सत्रमा अनुपस्थित रहेका शाह बन्दसत्रमा भने उपस्थित भई प्रतिनिधिहरूसँग भेटघाट गरेका हुन्।
जानकारीअनुसार उद्घाटन सत्रमा अन्य व्यस्तताका कारण सहभागी हुन नसकेका शाह विभिन्न प्रतिवेदन प्रस्तुत भइसकेपछि महाधिवेशन स्थल पुगेका थिए। उनी आफैं सवारी साधन चलाएर महाधिवेशन स्थल पुगेको दृश्यले सहभागीहरूको ध्यान आकर्षित गरेको थियो।
बन्दसत्रमा सहभागी भएपछि शाहले पार्टीको आगामी कार्यदिशा, संगठन सुदृढीकरण तथा समसामयिक राजनीतिक विषयमा नेताहरू र प्रतिनिधिहरूसँग अनौपचारिक छलफल गरेका थिए। महाधिवेशनमार्फत पार्टीको भावी नेतृत्व चयन, नीतिगत दस्तावेज पारित तथा संगठन विस्तारसम्बन्धी विषयमा व्यापक बहस भइरहेको छ।
यसअघि रास्वपाका नेता एवं गृहमन्त्री सुधन गुरुङ पनि महाधिवेशन स्थल पुगेका थिए। गुरुङले पार्टी सभापति रवि लामिछानेसँग केहीबेर छलफल गरेपछि बन्दसत्रमा सहभागी भएका थिए। महाधिवेशनका क्रममा शीर्ष नेताहरूबीच पार्टीको भावी रणनीति, संगठनात्मक सुधार र राजनीतिक एजेण्डाका विषयमा निरन्तर संवाद भइरहेको बताइएको छ।
रास्वपाको महाधिवेशनलाई पार्टीको आगामी राजनीतिक यात्राको महत्वपूर्ण मोडका रूपमा हेरिएको छ। महाधिवेशनबाट पारित हुने निर्णयहरूले पार्टीको भावी दिशा तय गर्ने अपेक्षा गरिएको छ। पार्टीका नेता तथा कार्यकर्ताहरूले महाधिवेशनले संगठनलाई थप एकताबद्ध र सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।



























































