– नन्दी केशर पौड्याल


ADVERTISEMENT


नेपालको हालैको राजनैतिक उथलपुथललाई बुझ्न महाभारतको एउटा अद्भुत प्रसंगलाई सम्झनै पर्छ। द्रौपदीको स्वयम्बरमा उपस्थित असंख्य राजकुमार, राजदरबारका बलिया धनुर्धारी र गजगज्ज धाक जमाएका वीर योद्धा सबैको लक्ष्य एउटै थियो—रुखमा झुण्ड्याइएको माछाको आँखा।


ADVERTISEMENT

# # #


नियम सरल थियो, तर काम कठिन । माछालाई सिधै हेरेर होइन, तल बगेको पानीमा परेको छायाँमार्फत मात्र आँखा ताक्नुपर्ने। जसले सफलतापूर्वक बाण हान्छ, उसैले द्रौपदीलाई वरण गर्ने।

तर, कस्तो विडम्बना ! ती वीर भनाउँदाहरूले धनुष त ताने, तर बाण चाहिँ कहिल्यै निशानामा पुग्न सकेन। सबै असफल। अन्त्यमा अर्जुनलाई पनि लाग्यो—“यो त सम्भव हुँदैन।” तर भगवान कृष्ण भने हाँसेर भन्नुभयो—“तिमी सक्छौ।” अनि बाण हान्ने निर्णायक घडीमा, कृष्णले एकैचोटि बगेको पानी रोकिदिए। अर्जुनले छायाँ प्रष्ट देखे, आँखा सजिलै देखे, अनि निशाना प्रहार गरिदिए। द्रौपदी अर्जुनको भयो, तर त्यो सफलता अर्जुनको बाणभन्दा बढी कृष्णको खेल थियो।

आज नेपालको राजनीतिमा यही प्रसंग फेरि जस्तै लाग्छ। यहाँका नेताहरू अर्जुन जस्तै धनुष त तानिरहेका छन्, तर निशाना देखाउने काम अरू कसैले गरिदिएको छ। पानी रोक्ने शक्ति आजका कृष्ण बनेर देशभित्र होइन, बाहिरका शक्तिहरू, विभिन्न स्वार्थ समूह र एनजीओहरूले सम्हालेका छन्।

हालैको जेनजी आन्दोलन बाहिरबाट हेर्दा युवाको जागरण देखिन्थ्यो। परिवर्तन चाहने उत्साह, असमानतासँग लड्ने हिम्मत र पुरानो राजनीतिक अभ्यासविरुद्धको रोष—सबैको आवाज जस्तै लाग्थ्यो। तर भित्रतिर चाखलाग्दो खेल थियो।

चौहत्तर जना युवाले ज्यान गुमाए, सयौँ घाइते भए, र हजारौँ परिवार आक्रोशले भरिए। इतिहासले यसलाई विद्रोह भनेर दर्ज गर्न सक्छ, तर वास्तविक लाभ कसले उठायो ?

माथिल्लो सतहमा यो आन्दोलन युवाको ‘सपना’ जस्तै देखियो। तर तल गहिराइमा अरु कसैको छद्म सहभागिता देखियो। अरु असन्तुष्ट दलहरू पनि पर्दा पछाडिबाट धुवाँ फ्याँकिरहेका थिए। तर खासमा, यो आन्दोलनमा वास्तविक पानी रोक्ने शक्ति चाहिँ एनजीओ नेटवर्क र तिनका अन्तर्राष्ट्रिय स्रोत–साधन थिए। कसैलाई लोकतन्त्र बचाउने बहानामा, कसैलाई मानवअधिकारको नाममा, कसैलाई सुशासनको उपदेशमा, तर अन्ततः यी सबै विदेशी चासो र गुप्त एजेन्डामा गाँसिएका थिए।

माछाको आँखा युवाको हातमा थिएन । धनुष तान्ने भंगिमा थिए तर पानी रोक्ने जिम्मा अरूको थियो। त्यसैले आन्दोलनको स्वरूप, दिशा र परिणाम सबै उनीहरूको हातमा पुग्यो।

आजको नेपालमा सत्ता सम्हालिरहेका नेताहरूलाई पनि यो दृष्टान्तले ठाडो व्यङ्ग्य गर्छ। उनीहरू दिनरात ‘जनताको लागि काम गरिरहेछौं’ भनेर भाषण दिन्छन्, तर वास्तविक निर्णय गर्ने अधिकार कतै अर्कै टेबलमा हुन्छ।

सरकारमा बसेकाहरू मन्त्री परिषद्को बैठक बोलाउँछन्, तर निर्णयको दिशा दूतावासको सल्लाहबाट तय हुन्छ। संसदमा बहस चल्छ, तर वास्तविक शक्ति परियोजनाको नाममा आएको डलरले घुमाउँछ। यो ठीक त्यस्तै हो—धनुर्धारीहरू हल्लाइहाल्छन्, तर आँखा देखाउने र पानी रोक्ने काम अरूले गरिदिन्छ।
यस्तो अवस्थामा जनताले चाहे सरकारलाई दोष देओस्, वा विपक्षलाई—अन्तिमतः शक्ति भने छायामा लुकेर बसेको हुन्छ।

जेनजी आन्दोलनमा माओवादी र रास्वपाका कार्यकर्ताले खुलेआम सहभागिता जनाए वा नगरे, उनीहरूको रणनीतिक लाभ भने स्पष्ट छ। पुराना दललाई कमजोर बनाउने अवसर पाए। असन्तुष्ट मतदाता आकर्षित गर्ने मौका पाए।

तर, सबैभन्दा ठूलो लाभ उठाउने चाहिँ ती एनजीओ र तिनका अन्तर्राष्ट्रिय संरक्षकहरू बने। आन्दोलनको आगोमा घ्यू हाल्ने, घाइतेको आँसु टिस्युले पुछ्ने, शहीद परिवारलाई फुलमाला दिने—यी सबै दृश्य सुन्दर लागे पनि अन्ततः राजनीतिक र आर्थिक रोटी सेकिने काम भयो।

जसरी द्रौपदी अर्जुनका हातमा पुगे पनि वास्तविक श्रेय कृष्णको चतुराइलाई गयो, त्यसरी नै नेपालको आन्दोलनमा जनताको बलिदान भए पनि वास्तविक उपलब्धि स्वार्थी समूह र विदेशी एजेन्डाको चतुराइले पायो।

नेपालका नेताहरू सधैंँ आफूलाई अर्जुन ठान्छन्। “हामीले लक्ष्य प्रहार गर्‍यौं,” भनेर मञ्चमा ठूला कुरा गर्छन्। तर प्रश्न उठ्छ—तिमीहरूले साँचै लक्ष्य देख्यौ कि अरूले रोकिदिएको पानीमा देखेको छायाँ मात्र देख्यौ ?

जनताले आफ्नो रगत बगाउँछन्, सडकमा उत्रिन्छन्, आँसु र पसिना बगाउँछन्। तर सत्तामा पुगेपछि त्यो बलिदानलाई आफ्नै उपलब्धि भनेर भाषणमा भजाइन्छ। व्यङ्ग्य यहीँ छ—जनताको आन्दोलनलाई विदेशी एजेन्डाको उपकरण बनाइन्छ, तर नेताले त्यसलाई ‘जनताको विजय’ भनेर प्रचार गर्छन्।

महाभारतको कथामा कृष्ण भगवानले पानी रोकेर अर्जुनलाई सफल तुल्याए। त्यो दिव्य योजना थियो। तर नेपालको आन्दोलनमा पानी रोक्नेहरू कृष्ण होइनन्, बरु स्वार्थी खेलाडी हुन्। उनीहरूको उद्देश्य द्रौपदी जोगाउने होइन, बरु आफ्नो स्वार्थको द्रौपदी कब्जा गर्ने हो।

यदि नेपाली समाजले यो व्यङ्ग्यात्मक सत्य बुझ्न सकेन भने, फेरि फेरि जनताले आँसु झार्ने, बलिदान दिने तर उपलब्धि अरूको खल्तीमा जाने चक्र दोहोरिरहन्छ।

नेपालको जेनजी आन्दोलन र महाभारतको माछाको आँखा प्रसंगबीच अचम्मको समानता छ। यहाँ धनुर्धारीहरू (राजनीतिक दल र नेताहरू) देखिन्छन्, आँखा (जनताको माग र आन्दोलन) देखिन्छ, तर पानी रोक्ने शक्ति (विदेशी स्वार्थ समूह र एनजीओ) लुकेर बस्छन्।

अर्जुनले बाण चलाएर द्रौपदी पाएजस्तै, यहाँ नेताहरूले भाषण गरेर सत्ता पाउँछन्। तर त्यहाँ कृष्ण थिए, यहाँ स्वार्थी विदेशी। त्यहाँ द्रौपदीले धर्म र न्यायको साथ पाएर अर्जुनलाई वरण गरिन् ः तर यहाँको द्रौपदी (देश र जनता) अझै कसैको स्वार्थको खेलौना बनेकी छ।

यही हो नेपालको राजनीति—जहाँ आँखा जनताको देखिन्छ, बाण नेताले चलाउँछन्, तर पानी रोक्ने शक्ति अरूको हुन्छ।