काठमाडौं- नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रञ्जित कर्ण ले संघीयताको आधारभूत संरचनामाथि प्रहार गर्ने प्रयास देशका लागि अर्को दुर्घटना निम्त्याउन सक्ने चेतावनी दिएका छन्।


ADVERTISEMENT


सोमबार राष्ट्रियसभाको बैठकमा बोल्दै कर्णले अधिकारको स्पष्ट बाँडफाँट हुन नसक्दा संघीय संरचनाले अपेक्षाअनुसार काम गर्न नसकेको स्वीकार गर्दै त्यसैलाई आधार बनाएर संघीय व्यवस्थामाथि नै प्रश्न उठाउनु उचित नहुने बताएका छन्। उनका अनुसार अहिलेको समस्या संघीय व्यवस्थामा नभई यसको प्रभावकारी र पूर्ण कार्यान्वयन हुन नसक्नुमा रहेको छ।


ADVERTISEMENT

# # #


उनले प्रदेश सरकारलाई खर्चिलो भन्दै संघीयताविरुद्ध भइरहेको प्रचार राजनीतिक उद्देश्यबाट प्रेरित रहेको दाबी गर्दै व्यवस्था कमजोर पार्नुको सट्टा देखिएका कमजोरी सुधार गर्नुपर्नेमा जोड दिएका छन्। संघ र प्रदेश सरकारलाई दोषारोपण गर्नु समाधान नभई राजनीतिक कपट मात्र भएको उनको भनाइ छ।

कर्णले वर्तमान सरकारका केही घटकले निर्वाचित कार्यकारी प्रधानमन्त्रीको एजेन्डा अघि सार्दै संघीयताको मूल आधार परिवर्तन गर्न खोजिरहेको आरोप पनि  लगाएका छन्। उनले नागरिकलाई फेरि आफ्ना अधिकारको रक्षाका लागि सडकमा उत्रिनुपर्ने अवस्था आउन नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राखेका छन्।

साथै, उनले सुशासन कायम गर्ने विषयमा सरकार पूर्ण रूपमा असफल भएको आरोप लगाउँदै जनअपेक्षाअनुसार शासन सञ्चालन गर्न सरकार चुकेको टिप्पणी गरेका छन्।