काठमाडौं– हेटौँडा–काठमाडौं जोड्ने दुई सडकमा आजदेखि तीन दिनसम्म बेलुकाको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सूचना जारी गर्दै हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथमा आजदेखि असोज २० गते बेलुका ४ः०० बजेदेखि बिहान ६ः०० बजेसम्म र हेटौँडा–भैँसे–काठमाडौं सडकमा बेलुका ५ः०० बजेदेखि बिहान ६ः०० बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको जानकारी दिए ।
जल तथा मौसम विभागद्वारा जारी मौसम पूर्वानुमानसम्बन्धी सूचनाबमोजिम असोज १७ गतेदेखि २० गतेसम्म जिल्लामा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले परिस्थितिलाई मध्यनजर गर्दै यी दुवै सडकमा बेलुकाको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको सूचनामा उल्लेख छ ।
विपद् पूर्वतयारी र प्रतिकार्यमा जुट्न सबै साझेदार संस्थाहरू, जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय विपद् व्यवस्थापन समितिको नियमित समन्वय र सम्पर्कमा रही सतर्क रहन पनि आग्रह गरिएको छ ।



























































