काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन प्रवर्द्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सृजना र नागरिकलाई गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउनु रहेको बताएका छन्।
मंगलबार एसियाली विकास बैंक एडिबीका अध्यक्ष मासातो कान्डासँग भएको भेटवार्तामा प्रधानमन्त्री शाहले सार्वजनिक लगानीको प्रभावकारिता बढाउने, निजी क्षेत्रको नेतृत्वमा आर्थिक वृद्धि प्रवर्द्धन गर्ने, ऊर्जा विकासलाई तीव्रता दिने तथा पूर्वाधारको आधुनिकीकरणसँगै डिजिटल रूपान्तरणलाई अगाडि बढाउने सरकारको नीति रहेको जानकारी दिएका हुन्।
उनले स्थिर नीतिगत वातावरण र सुदृढ संस्थागत संरचनाले लगानी आकर्षित गर्दै दिगो तथा समावेशी विकासको आधार तयार गर्ने विश्वास व्यक्त गरे। भेटमा नेपाल–एडिबी साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिएकी छन्।
प्रधानमन्त्री शाहले एडिबीको सहयोगमा निर्माणाधीन दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै यसको वित्तीय व्यवस्थापन प्रक्रिया यथाशीघ्र अघि बढाउन आग्रह गरेका छन्। साथै, एडिबीको ‘कन्ट्री पार्टनरसिप स्ट्राटेजी’ अन्तर्गत ऊर्जा, कनेक्टिभिटी, सहरी विकास तथा डिजिटल पूर्वाधारका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा समेत छलफल भएको छ।
प्रधानमन्त्रीले पाँच दशकभन्दा बढी समयदेखि नेपालको विकासमा एडिबीले पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गरेका छन्। हाल एडिबीको नेपालमा करिब ४ अर्ब २० करोड अमेरिकी डलर बराबरको सक्रिय लगानी पोर्टफोलियो रहेको छ, जसअन्तर्गत ३१ वटा परियोजना सञ्चालनमा छन्।
भेटका क्रममा एडिबीका अध्यक्ष मासातो कान्डाले नेपाललाई प्रदान गरिँदै आएको सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले नेपालको डिजिटल अर्थतन्त्र आर्थिक वृद्धि र रोजगारीको नयाँ आधारका रूपमा विकास भइरहेको उल्लेख गर्दै डिजिटल पूर्वाधार तथा डिजिटल सार्वजनिक पूर्वाधार सुदृढीकरणमा एडिबीको सहयोग निरन्तर रहने बताएका छन्।



























































