काठमाडौं- नेपाल नेत्रज्योति सङ्घले निःशुल्क आँखा शिविरमार्फत आफ्नो सेवा नेपालबाहिर पनि विस्तार गर्दै कम्बोडियामा सफलतापूर्वक आँखा उपचार शिविर सञ्चालन गरेको छ।
सङ्घका अनुसार लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टरको प्राविधिक सहकार्य र थाइल्याण्डस्थित नेपाली राजदूतावास कम्बोडियासमेतको समन्वयमा कम्बोडियाको कम्पोङ चाम प्रान्तमा दुईदिने निःशुल्क आँखा उपचार शिविर सम्पन्न गरिएको हो।
असार २० र २१ गते सञ्चालन गरिएको शिविरमा एक हजार दुई कम्बोडियाली नागरिकले निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा लिएका छन्। सेवा लिनेमध्ये ६४१ महिला र ३६१ पुरुष रहेका छन्।
सङ्घका कार्यकारी निर्देशक डा.शैलेशकुमार मिश्रका अनुसार शिविरमा ३७३ जनालाई निःशुल्क औषधि, ४०७ जनालाई चस्मा तथा १९२ जनालाई औषधिसहित चस्मा वितरण गरिएको छ। परीक्षणका क्रममा ९३ जनामा मोतियाबिन्दुको समस्या पहिचान भएपछि थप उपचारका लागि स्थानीय अस्पतालमा रिफर गरिएको छ।
शिविरको उद्घाटन नेपालका कम्बोडियाका लागि राजदूत धनबहादुर ओली र कम्पोङ चाम प्रान्तका गभर्नर उन चान्दाले संयुक्त रूपमा गरेका थिए। शिविरमा प्रा.डा सुशीला पटेलको नेतृत्वमा रहेको नेपाली विशेषज्ञ चिकित्सक टोलीले परीक्षण, उपचार तथा विशेषज्ञ परामर्श सेवा प्रदान गरेको थियो।
कार्यक्रमका क्रममा नेपाल र कम्बोडियाबीच आँखा स्वास्थ्य सेवा, चिकित्सा शिक्षा, प्राविधिक सहयोग, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि तथा अनुभव आदानप्रदानका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल भएको छ। कम्बोडियाली चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थानमा तालिम तथा व्यावसायिक अनुभव आदानप्रदानको अवसर उपलब्ध गराउने सहमति समेत भएको सङ्घले जनाएको छ।
नेपाल नेत्रज्योति सङ्घले नेपाललाई दक्षिण एसियाकै अग्रणी आँखा उपचार, तालिम तथा आँखा स्वास्थ्य पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित अन्तर्राष्ट्रिय सहकार्यलाई निरन्तर विस्तार गर्ने जनाएको छ।



























































