हेटौँडा – बागमती प्रदेश सरकारले अविरल वर्षासँगै बढ्दै गएको बाढी, पहिरो र अन्य प्राकृतिक विपतको जोखिम न्यूनीकरणका लागि उच्च सतर्कता घोषणा गर्दै ‘युनिफाइड कमान्ड टिम’ गठन गरेको छ ।


ADVERTISEMENT


दसैँको मुख्य समयमा परेको लगातार वर्षाका कारण सम्भावित जोखिमका विषयमा छलफल गर्न शनिबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा आकस्मिक बैठक बसेको हो । बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराम अधिकारीको संयोजकत्वमा भौतिक पूर्वाधारमन्त्री डा. दिनेशचन्द्र देवकोटा, आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङ, खानेपानी तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङ र वन तथा वातावरणमन्त्री भरतबहादुर केसी सम्मिलित ‘द्रुत प्रतिकार्य टोली गठन गरेको छ । बैठकले तत्काल उद्धार, राहत र पुनर्स्थापनाका लागि प्रदेशका सबै संयन्त्रहरू तयारी अवस्थामा राख्ने निर्णय गरेको मुख्यमन्त्री बानियाँले जानकारी दिए ।


ADVERTISEMENT

# # #


मुख्यमन्त्री बानियाँले बागमती प्रदेशका अधिकांश पहाडी जिल्लाहरूमा पहिरो र नदी कटानको जोखिम उच्च रहेकाले प्रदेश सरकार र मातहतका निकाय सतर्क अवस्थामा राख्ने निर्णय भएको बताए । उनले सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, काभ्रेपलाञ्चोक, धादिङ, ललितपुर, दोलखा र रामेछापलगायतका जिल्लामा विशेष सतर्कता अपनाउन निर्देशन पनि दिए । ‘हामीले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबिच समन्वय गरी ‘युनिफाइड कमान्ड टिम’ बनाएका छौँ,’ मुख्यमन्त्री बानियाँले भने, ‘कुनै पनि वेला विपत् परे तत्काल उद्धार र राहतका काम सुरु हुनेछन् ।’

बैठकले जोखिममा रहेका विद्यालय, स्वास्थ्य चौकी र सरकारी भवनवरिपरिको जमिनमा माटो कटान नियन्त्रण गर्ने कार्य अघि बढाउने निर्णय गरेको छ । विद्यालय क्षेत्रमा सम्भावित जोखिम न्यूनीकरणका लागि स्थानीय शिक्षक र विद्यार्थीमार्फत सचेतना अभियान चलाउने तयारी गर्ने विषयमा पनि बैठकमा छलफल भएको छ ।

बैठकले प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ‘जिल्ला विपत् व्यवस्थापन समिति’लाई सक्रिय बनाउन र त्यसअन्तर्गत सेना, प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस र स्थानीय स्वयंसेवकहरूलाई परिचालन गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री बानियाँले केन्द्र सरकारसँग निरन्तर समन्वय गरी आवश्यक जनशक्ति र स्रोत परिचालन गर्न आग्रह गरेका छन् । उनले प्रदेश सरकारले नागरिकको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको बताए ।