काठमाडौं – गत शुक्रबार र शनिबारदेखिको लगातार वर्षाले सप्तकोशी नदीको जलवहाव बढेको छ । भीषण वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक बढेपछि कोशी ब्यारेजका सबै ५६ वटा ढोका पूर्ण रूपमा खोलिएको छ ।
सुनसरी प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले कोशीमा पानीको वहाव प्रतिसेकेन्ड तीन लाख ३५ हजार ३६० क्युसेकभन्दा बढी भएपछि ५६ ढोका खोलिएको बताए । उनका अनुसार नदीमा निरन्तर जलमापन भइरहेको छ ।
सुनसरी, मोरङ र झापा सहितका तराई भेगहरूमा नदीहरूको बहाव बढेसँगै डुवानको स्थिति सिर्जना भएको छ । प्रहरीका अनुसार धेरै स्थानमा आवागमन अवरुद्ध भएको छ भने जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।




























































