काठमाडौं- सहकारीमा बचत गरेको रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरूले सोमबार काठमाडौंको माइतीघर मण्डलामा सशक्त प्रदर्शन गरेका छन्।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको नेतृत्वमा आयोजित प्रदर्शनमा सहभागीहरूले सरकारले साना र ठूला बचतकर्ताबीच विभेद गरेको तथा सहकारी सञ्चालकलाई राजनीतिक संरक्षण दिएको आरोप लगाएका छन्।
प्रदर्शनकारीहरूले सहकारी ठगीमा संलग्नमाथि कडा कारबाही, बचतकर्ताको रकम तत्काल फिर्ता र पीडितलाई न्याय सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। उनीहरूले विभिन्न नारासहित सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन्।
अभियानका अध्यक्ष कुशलभ केसीले सरकारले माग सम्बोधन नगरेसम्म आन्दोलन नरोकिने चेतावनी दिँदै आवश्यक परे सम्बन्धित मन्त्रालय घेराउसहित थप सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने बताएका छन्।
सहकारी पीडितहरूले आफ्नो बचत सुरक्षित फिर्ता हुने स्पष्ट योजना ल्याउन र दोषीमाथि प्रभावकारी कानुनी कारबाही गर्न सरकारसँग पुनः आग्रह गरेका छन्।




























































