काठमाडौँ — नेकपा एमालेनिकट अनेरास्ववियु र युवा संघ काठमाडौं महानगरपालिका मेयर बालेन्द्र (बालेन) शाह र हामी नेपाली संस्था अध्यक्ष तथा जेन-जी आन्दोलनका अगुवा सुदन गुरुङविरुद्ध प्रहरीमा जाहेरी दिन प्रहरी परिसर काठमाडौं पुगेको छ ।
बालेन र सुदनले जेन–जी आन्दोलनका क्रममा युवालाई भड्काएर हिंसात्मक अवस्था सिर्जना गराएको, कर्तव्यपालनामा रहेका प्रहरी कर्मचारीको हत्या गराएको, राज्यका तीनै अंगका भवनहरुमा आगजनी र तोडफोड गरेको, निजी कम्पनी र प्रतिस्ठानमा आगजनी र लुटपाट गराएको भन्दै अनेरास्ववियुले उनीहरुविरुद्ध जाहेरी दिन पुगेको हो ।
जाहेरी लिएर एमालेका समिक बडाल, दीपक धामी लगायतका एमालेका युवा नेताहरु आजै प्रहरी परिसर काठमाडौं पुगेका हुन् । यता जेन–जी आन्दोलनका क्रममा दमन गर्दै ७२ जनाको ज्यान लिएको भन्दै जेन–जी समूहका तर्फबाट सुदन गुरुङ समूह पनि सोमबार पनि तत्कालीन प्रधानमन्त्री केपी शर्माओली र गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी दिन प्रहरी परिसर काठमाडौं पुगेको थियो । तर, प्रहरीले जाहेरी लिन मानेको थिएन ।
उनीहरु आज पनि परिसर पुगेका छन् । यता अनेरास्ववियुपनि परिसर पुग्दा दुई पक्षबीच मुठभेट हुने सम्भावना बढेको छ ।



























































