राहुल गुप्ता धनुषा — पूर्व–पश्चिम लोकमार्गको धनुषा खण्डमा प्रहरीले विशेष सूचनाका आधारमा ठूलो परिणाममा लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले पक्राउ गरेको व्यक्तिहरूको साथबाट ३,७०९ ग्राम (करिब ३.९ किलो) ब्राउन सुगर बरामद गरिएको जनाएको छ।


ADVERTISEMENT


पक्राउ पर्नेमा सिरहा मिर्चैया नगरपालिका–७ का २४ वर्षीय निराजन यादव र सप्तरी, राजविराज नगरपालिका–९ का ३१ वर्षीय रोहन कुमार सिंह रहेका छन्।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार, २०८२ साल असोज २० गते दिउँसो करिब ४ बजेतिर, पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.प्र.०२–००२ प.२०८७ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। चेकजाँचको क्रममा मोटरसाइकलको पछाडि सवार निराजन यादव अचानक झट्किदै भाग्न खोजेका थिए र साथमा बोकेको कालो प्लास्टिकको पोका सडक छेउको झाडीमा फालेका थिए।

पोका संकलन गरी जाँच गर्दा उक्त पोका भित्र ब्राउन सुगर (खैरो हिरोइन) फेला परेको धनुषा प्रहरीले जनाएको छ। त्यसपछि यादवसँगै मोटरसाइकल चालक रोहन कुमार सिंहलाई समेत नियन्त्रणमा लिइएको हो।

धनुषा जिल्ला अदालतबाट ८ दिनको म्याद थप अनुमति लिएर उनीहरूलाई हिरासतमा राखी लागुऔषध नियन्त्रणसम्बन्धी मुद्दा अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूको विवरणः

निराजन यादव, २४ वर्ष, मिर्चैया नगरपालिका–७, सिरहा

रोहन कुमार सिंह, ३१ वर्ष, राजविराज नगरपालिका–९, सप्तरी

प्रहरी प्रशासनले लागुऔषध तस्करी नियन्त्रणमा सर्वसाधारणको सहयोग अपरिहार्य रहेको भन्दै, यस विषयमा कुनै पनि जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ।