काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको लिची बगैँचा जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित सात जना बिरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।


ADVERTISEMENT


अख्तियारले बुधबार तत्कालिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राज कुमार गुप्ता र तत्कालिन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठसमेत ७ जना उपर भ्रष्टाचार सम्बन्धी आरोपपत्र दायर गरेको हो । गुप्ता र श्रेष्ठविरुद्ध अख्तियारले ७८–७८ लाख बिगो मागदाबी गरेको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै सुजन कुमार तामाङ, याम कुमारी गुरुङ, तुल्सीराम बुढामगर, मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख रामचन्द्र अधिकारी र खमबहादुर पुनलाई समेत प्रतिवादी बनाइएको विशेष अदालतका सूचना अधिकारी शाखा अधिकृत यज्ञराज रेग्मीले जानकारी दिए । सुजन कुमार तामाङ, याम कुमारी गुरुङ, तुल्सीराम बुढामगरलाई ७८ लाख बिगो कायम गरिएको र रामचन्द्र अधिकारीलाई ५३ लाख तथा खमबहादुर पुनलाई २५ लाख रुपैया बिगो कायम गरेर मुद्दा दायर भएको रेग्मीले बताए ।

पोखरा १६ लिचि बगैचामा रहेको भनिएको जग्गाको सम्बन्धमा अदालतको फैसला बमोजिम दुर्गादेवी शाहको हकवालाहरुको नाममा जग्गा दर्ता तथा नामसारी दाखिलाका लागि मालपोत कार्यालय कास्कीका तत्कालिन प्रमुख रामचन्द्र अधिकारीको सरुवा थमौती तथा भूमि समस्या समाधान आयोग कास्कीको सदस्य पदमा खम बहादुर पुनलाई नियुक्त गर्नका लागि समेत घुस रिश्वत लेनदेन भएको अख्तियारको आरोप दावी रहेको छ ।

यसअघि तत्कालिन मन्त्री गुप्ताको सरुवा थमौतीका लागि घरजग्गा व्यवसायीसंग ५३ लाख र भूमि आयोगको सदस्य बनाउन २५ लाख रुपैया घुस डिल गरेको अडियो सार्वजनिक भएको थियो ।