काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा घटेका घटनाको निष्पक्ष छानबिनका लागि गठन गरिएको कार्की आयोग मान्य नहुने बताएका छन् ।
एमाले भक्तपुर जिल्ला कमिटीले बिहीबार भक्तपुरको गुण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गौरी बहादुर कार्कीको अध्यक्षतामा गठित तीन सदस्यीय जाँचबुझ आयोगको प्रतिवेदन एमालेले अस्वीकार गर्ने बताएका हुन् । उनले आयोगका अधयक्ष कार्कीमाथि नैतिक प्रश्न उठेकाले एमालेले त्यस्ता व्यक्तिले दिएको प्रतिवेदन अस्वीकार गर्ने उल्लेख गरेका हुन् ।
‘पहिला नै केपी ओली समाउनुपर्छ, थुन्नुपर्छ, मुद्दा लगाउनुपर्छ भन्नेहरूको आयोग बनाएर छानबिन गरेर प्रतिवेदन दिएको नाटक गर्नुहुन्छ। त्यसपछि त्यो प्रतिवेदनका आधारमा अगाडि बढ्ने नाटक,’ उनले भने, ‘यस्ता नाटक नेकपा एमालेलाई मन्जुर छैन, स्वीकार्य छैन। मैले मसिनो भाषामा भनेको छु—यो स्वीकार्य छैन। तपाईँहरूले बुझ्नुस्, नेकपा एमालेलाई यो नक्कली आयोग मन्जुर छैन।’
यस्तै अध्यक्ष ओलीले आफू सबै सार्वजनिक व्यक्तिहरुको सम्पत्ति छानबिनका लागि तयार रहेका बताए । यद्दपि त्यसको सुरुवात वर्तमान सरकारका मन्त्रीहरुबाट हुनुपर्ने उल्लेख गरे । उनले भने, ‘सम्पत्ति छानबिन गर्ने रे, एक पटक होइन, दस पटक गर। मैले सोध्न चाहन्छु, मन्त्रीज्यूहरू, तपाईँहरूको सम्पत्ति छानबिन गरौँ ? आँट गर्नुहुन्छ ? आफ्नै सम्पत्ति छानबिन गराउने ? अब यस्तै अहिले बनाए जस्तै आयोग बनाउन पाउनुभयो भने गराउनु होला।’
तत्कालको तत्काल कोही मानिस विरोधीबाट निष्पक्ष हुन नसक्ने भन्दै उनले आयोगको निष्पक्षतामाथि प्रश्न गरे ।



























































