काठमाडौं- नेपाल टेलिकम र जल तथा मौसम विज्ञान विभागबीच मौसम तथा प्राकृतिक विपद्को पूर्वसूचना एसएमएसमार्फत प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ।


ADVERTISEMENT


बुधबार भएको सम्झौतापत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल र जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा.अर्चना श्रेष्ठले हस्ताक्षर गरेकी हुन्।


ADVERTISEMENT

# # #


सम्झौताअनुसार देशभरका जोखिमयुक्त क्षेत्रमा रहेका नेपाल टेलिकमका सक्रिय ग्राहकलाई ११५५ सर्टकोड प्रयोग गरी एसएमएसमार्फत मौसम तथा प्राकृतिक विपद्सम्बन्धी पूर्वसूचना पठाइनेछ।

यसअन्तर्गत वर्षा, हावाहुरी, चट्याङ, असिना, हिमपात, हिमआँधी, तातो हावाको लहर ९लु०, शीतलहर, हुस्सु, बाढी, आकस्मिक बाढी, पहिरो, हिमताल विस्फोटलगायतका सम्भावित जोखिमबारे समयमै जानकारी उपलब्ध गराइने नेपाल टेलिकमले जनाएको छ।

जोखिम क्षेत्र पहिचानका लागि जल तथा मौसम विज्ञान विभागले नेपाल टेलिकमलाई विभिन्न नदी तटीय क्षेत्र र सम्भावित जोखिमयुक्त स्थानका एसएमएस पोलिगन  उपलब्ध गराउनेछ। यसमा कोशी, बागमती, नारायणी, कर्णाली, महाकाली, राप्ती, बबई, कन्काई लगायत नदी तटीय क्षेत्र तथा आकस्मिक बाढीको जोखिम भएका स्थान समेटिनेछन्।

यसका साथै विभागले जिल्लास्तर, स्थानीय तह तथा जोखिम क्षेत्रको डिजिटल नक्सा उपलब्ध गराउनेछ, जसका आधारमा प्रभावित क्षेत्रका नागरिकलाई लक्षित गरी पूर्वसूचना पठाइनेछ।

नेपाल टेलिकमले यो एसएमएस सेवा विगतदेखि नै निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको जनाएको छ। नयाँ सम्झौतापछि सेवा अझ प्रभावकारी, व्यवस्थित र लक्षित रूपमा सञ्चालन हुने विश्वास व्यक्त गरिएको छ।

नेपाल टेलिकमका अनुसार यो प्रणालीले विपद्को जोखिम न्यूनीकरण, समयमै सतर्कता अपनाउन र जनधनको क्षति कम गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।