काठमाडौं- स्टार्टअप, फ्रिलान्सर, रिमोट वर्कर तथा डिजिटल नोमाडलाई लक्षित गर्दै वुल्फ अफिसेजले मण्डिखाटारमा नयाँ प्रिमियम को–वर्किङ स्पेस सञ्चालनमा ल्याएको छ।
यसअघि बानेश्वरबाट सेवा प्रदान गर्दै आएको कम्पनीले व्यवसाय विस्तार गर्दै मण्डिखाटारमा आधुनिक सुविधा सम्पन्न कार्यस्थल सञ्चालनमा ल्याएको हो। कम्पनीका अनुसार नयाँ वर्कस्पेसमा आठभन्दा बढी स्टार्टअपलाई स्थान उपलब्ध गराउन सकिनेछ भने एकै समयमा ६० जनासम्मले काम गर्न सक्ने क्षमता रहेको छ।
कम्पनीले उद्यमी, साना तथा मझौला व्यवसाय र विभिन्न टोलीलाई सहकार्यको वातावरण उपलब्ध गराउँदै व्यवसाय विस्तारमा सहयोग पुर्याउने उद्देश्यले यो सेवा सुरु गरेको जनाएको छ।
को–वर्किङ स्पेससँगै कम्पनीले ‘भर्चुअल अफिस’ सेवा पनि उपलब्ध गराउँदै आएको छ। यसअन्तर्गत व्यवसाय दर्ताका लागि आधिकारिक ठेगाना, व्यावसायिक पत्राचार, पार्सल व्यवस्थापन तथा अन्य प्रशासनिक सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ।
सदस्यहरूलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले वुल्फ अफिसेजले लक्ष्मी प्रिमियम हेयर सलुन, हिमालयन जाभा लगायत विभिन्न संस्थासँग साझेदारी गरेको छ। यसबाट सदस्यहरूले विशेष छुट तथा अन्य सुविधाहरू प्राप्त गर्न सक्नेछन्।
कम्पनीले भविष्यमा क्याफे, होटल तथा अन्य कार्यस्थल प्रदायकहरूको सूचीकरण गर्न सकिने डिजिटल प्लेटफर्म विकास गर्ने योजना पनि अघि बढाएको जनाएको छ। उक्त प्लेटफर्ममार्फत प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार विभिन्न स्थानमा उपलब्ध कार्यस्थल सहज रूपमा खोजी गरी प्रयोग गर्न सक्नेछन्।
वुल्फ अफिसेजले लचिलो कार्यस्थल, भर्चुअल अफिस सेवा तथा व्यावसायिक नेटवर्क विस्तारमार्फत नेपालका स्टार्टअप, उद्यमी र पेशेवरहरूका लागि सहज, आधुनिक र पहुँचयोग्य कार्य वातावरण निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ।



























































