काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले परिवर्तनलाई आत्मसात गरेर निर्वाचनमा सहभागी हुन सम्पूर्ण राजनीतिक दलहरुलाई आग्रह गरेकी छन् । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजना गरेको दलहरुसँगको निर्वाचनलक्षित छलफल कार्यक्रममा प्रधानमन्त्री कार्कीले उक्त कुरा बताएकी हुन् ।
प्रधानमन्त्री कार्कीले दलहरुको सहभागिता बिना निर्वाचन सम्भव नहुने भएकाले सहभागी हुन आग्रह गरेकी छन् । साथै उनले जेन–जी आन्दोलन र युवाको परिवर्तनको चाहनालाई दलहरुले आत्मसात गर्नुपर्ने समेत बताइन् ।
प्रधानमन्त्री कार्कीले भनिन्, “जेनजी समूह हाम्रा छोरा, नाति भएकाले उनीहरूले किन आज यस्तो असन्तुष्टि व्यक्त गरे भन्ने बुझेर परिवर्तनलाई आत्मसात गर्नुपर्छ, यहीअनुसार दलहरू अगाडि बढ्दा देश र जनताको हित हुन्छ ।”
साथै उनले निर्वाचनका लागि आवश्यक शान्ति सुरक्षाको प्रबन्ध सरकारले गर्ने विश्वास दिलाइन् । गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि तत्कालीन सरकार र संसद विघटन कार्कीको नेतृत्वमा अन्तरिम (चुनावी) सरकार बनेको छ ।
आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने तय भएको छ । राष्ट्रपति पौडेलले निर्वाचनमा दलहरुको सहभागिताका लागि छलफल गर्न विघटित संसदमा प्रतिनिधित्व गर्ने पार्टीका दोस्रो तहका नेता र सरकारसँग शुक्रबार छलफल गरेका छन् ।



























































