काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पूर्ण बहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् ।


ADVERTISEMENT


मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले आफ्नो स्वास्थ्यका कारणले उपसभापति खड्कालाई कार्यबाहक सभापतिको रुपमा काम गर्नेगरि तोकेको जानकारी दिए । सभापति देउवाले कांग्रेसको एकता अहिलेको आवश्यकता भएकाले विद्यमान व्यक्तिगत वा समूहगत मतभेद, द्वन्द्व, असहमति सवैलाई थाती राखेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले पार्टीको आगामी १५औं महाधिवेशन र नेतृत्व हस्तान्तरणका सवालहरु उठिरहेको अवस्थामा महाधिवेशनमार्फत पार्टी नेतृत्व विधिवत रुपमा हस्तान्तरण गर्ने जिकिर गरे ।


ADVERTISEMENT

# # #


सभापति देउवाले जनेजी आन्दोलनेका क्रमा भएको घुसपैठका कारण अकल्पनीय जनधनको क्षति भएको भन्दै सम्भवत यो नेपालको ईतिहासमै एउटा डरलाग्दो दिनको रुपमा लिपिबद्द हुने बताए । उनले उक्त घटनाको सत्यतथ्य छानविन गरि दोषिलाई कानूनी कारवाहीको दायरामा ल्याउन माग गरे । भादै २४ गतेको कठिन अवस्थामा राष्ट्रपति रामचन्द्र पौडेलको परिपक्व भूमिकाले मुलुकमा देखा पर्न सक्ने अर्को संकट रोकिएको उनले बताए ।

जनताले निर्माण गरेको संविधान जोखिममा परेको र प्रतिनिधिसभा असंवैधानिक तथा अलोकतान्त्रिक तवरले बिघटन गरिएको उल्लेख गर्दै सभापति देउवाले लोकतान्त्रिक व्यवस्थामा आस्थावान अन्य राजनीतिक दहरुसंग समेत संवाद र सहकार्य गर्न आवश्यक रहेको बताए । सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनको मिति तोकेको भएपनि स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बन्न नसकेको र निर्वाचनको पूर्व सर्तका रुपमा रहेको शान्ति सुरक्षाको ग्यारेन्टी नभएको उल्लेख गरे ।

सभापति देउवाले भाद्र २४ गते आफु र आफ्नो परिवारमाथि ज्यानै लिने मनसायले सांघातिक हमला गरिएको र सुरक्षाकर्मीको घण्टौको अथक प्रयास पछि हामीलाई उद्दार गरिएको बताए । उनले आफ्नो परिवारमाथि आक्रमणले नपुगेर प्रतिष्ठा र छबि गिराउन सुनोयोजित रूपमा झुटा प्रचार गरिएको गुनासो गरे । देउवाको सम्बोधनपछि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असोज ३० गतेसम्मका लागि स्थगित गरिएको छ । जेनजी युवा आन्दोलनपछि देउवा पहिलोपटक बैठकमा सार्वजनिक भएका हुन् ।