काठमाडौं– मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ। कारोबार हुने साताको तेस्रो दिन नेप्से परिसूचक १९.४३ अंक घटेर २५२८.१६ विन्दुमा झरेको छ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। सोमबार करिब ५ अर्ब रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा आज ३ अर्ब ३६ करोड ६१ लाख ९८ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।
कारोबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३२ करोड ७ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ।
त्यसैगरी, हिमालयन रि इन्स्योरेन्सको १६ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने सिईडिबी होल्डिङ्गस लिमिटेडको कारोबार रकम साढे १२ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.४८ प्रतिशत बढेको छ। त्यस्तै, अन्य र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको देखिन्छ ।



























































