एजेन्सी – बङ्गलादेशको उत्तरी ढाकामा रहेको कपडा कारखाना र नजिकैको रासायनिक गोदाममा आगलागी हुँदा १६ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ ।
अग्निशमन विभागका निर्देशक ताजुल इस्लाम चौधरीले मृतकको सङ्ख्या बढ्न सक्ने उल्लेख गर्दै आगलागीको कारण अहिले सम्म थाहा नभएको बताइएको छ ।
कपडा कारखानाको दोस्रो र तेस्रो तलामा १६ जनाको शव फेला परेको र खोजी जारी रहेकाले मृतकको सङ्ख्या बढ्ने अनुमान गरिएको चौधरीले जनाए ।
नागरिक सुरक्षा अधिकारीले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै ढाकाको उत्तरी क्षेत्र मिरपुरमा रहेको कारखाना बाट आगलागी सुरु भई नजिकैको रासायनिक गोदाममा फैलिएको बताइएको छ ।
यस अघि बङ्गलादेशमा सन् २०१२ मा ढाकामा पश्चिमी देशहरूमा निर्यातका लागि कपडा उत्पादन गर्ने कपडा कारखानामा आगलागी हुँदा कम्तिमा १११ जना कामदारको मृत्यु भएको थियो भने २०० भन्दा बढी घाइते भएका थिए ।



























































