हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली काङ्ग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले आफूले पाउने सेवा सुविधाबाट निर्माण गरिदिएको घर मनहरी गाउँपालिका–९ ज्यामिरे निवासी मिठु माया सुनारलाई हस्तान्तरण गर्दैछन् ।


ADVERTISEMENT


मुख्यमन्त्री बानियाँको व्यक्तिगत पहलमा निर्माण गरिएको घर हस्तान्तरणसँगै मिठु मायाको अब आफ्नै घरमा बास लागेको छ।


ADVERTISEMENT

# # #


नेपालीहरुको महान पर्व तिहारको अवसरमा कार्तिक २ गते मंगलबार बिहान मिठु मायालाई घर हस्तान्तरण गरिने मुख्यमन्त्री बानियाँका प्रमुख स्वकीय सचिव मिलन पुडासैनीले हिमालय पोष्टलाई जानकारी दिए ।

मुख्यमन्त्री बानियाँका प्रमुख स्वकीय सचिव पुडासैनीका अनुसार, “पहिलो चरणमा तीन वटा घर निर्माण भइरहेको छ। राक्सिराङ्ग गाउँपालिका र कैलाश गाउँपालिकामा एक–एकवटा घर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। ती घरहरू चाँडै सम्पन्न गरी लक्षित समुदायलाई हस्तान्तरण गर्दैछन् । ”

उनले भने, “कार्तिक दुई गते मनहरी गाउँपालिका–९, ज्यामिरे निवासी मिठुमाया सुनारलाई घर हस्तान्तरण गरिँदैछ । त्यसैगरी राक्सिराङ्ग गाउँपालिकास्थित एक चेपाङ परिवार, र कैलाश गाउँपालिकास्थित एक परिवारलाई लक्षित गरी घरहरू निर्माण गरिँदै छ।” सबै घरहरू छिट्टै सम्पन्न गरेर लाभग्राहीलाई हस्तान्तरण गर्ने प्रमुख स्वकीय सचिव पुडासैनीले जानकारी दिए ।

मुख्यमन्त्री बानियाँले यसअघि पनि मकवानपुरको बकैया गाउँपालिका–५, गरगरेमा आगलागीबाट घर गुमाएका पीडितलाई १ लाख रुपैयाँ व्यक्तिगत सहयोग गरेका थिए। उनले आफू निर्वाचित भएको क्षेत्रभित्रका अति विपन्न परिवारका लागि घर निर्माण गर्ने अभियान थालेका छन्।

बानियाँ नेतृत्वको पहिलो मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्रीले आफूले पाउने तलब भत्ता विपन्न परिवारको घर निर्माणमा खर्चिने घोषणा गरेका थिए। त्यसैगरी, उक्त बैठकले प्रदेशभरका आर्थिक रुपमा पछाडि परेका जेहेन्दार विद्यार्थीलाई मेडिकल शिक्षा अध्ययनका लागि पूर्ण छात्रवृत्ति दिने निर्णयसमेत गरेको छ।

साथै, मन्त्रिपरिषदले चेपाङ, दलित, बोटे, जिरेल, हायु, वनकरिया लगायत अति विपन्न र सिमान्तकृत समुदायका लागि गाँस, बास र कपासको सुनिश्चितता गर्न उच्च प्राथमिकताका साथ नीतिगत व्यवस्था गरिने निर्णयसमेत गरेको छ।

मुख्यमन्त्री बानियाँको यो पहलले नेतृत्वले देखाएको मानवता र सेवा भाव झल्काउँछ, जुन आगामी दिनमा अन्य नेताका लागि पनि प्रेरणा बन्न सक्छ।