काठमाडौँ – निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनमा सक्रिय रुपमा सहभागी हुन राजनीतिक दलहरुलाई आग्रह गरेको छ ।


ADVERTISEMENT


बिहीबार काठमाडौंमा आगामी निर्वाचनका सम्दर्भमा राजनीतिक दलहरुसंग छलफल गर्दै आयोगले निर्वाचन घोषणा भई तयारी सुरु भएको अवस्थामा निर्वाचनको वातावरण सृजना गरी सक्रिय हुन दललाई आग्रह गरेको हो । छलफलमा राजनीतिक दलका प्रतिनिधिहरुले सरकारले निष्पक्ष र भयरहीत रुपमा निर्वाचन गर्ने वातावरण बनाउन नसकेको जनाएका थिए ।


ADVERTISEMENT

# # #


कांग्रेस नेता मीन विश्वकर्माले वर्तमान सरकार निर्माणका लागि गठन भएपनि निर्वाचन गर्न सरकार तत्पर नदेखिएको बताए । उनले निष्पक्ष रुपमा निर्वाचन हुने वातावरण बनाउन सुझाव दिएको उल्लेख गरे । निर्वाचनमा भाग लिन सवै दलहरु तयार रहेको तर त्यसको वातावरण सरकारले बनाउनुपर्ने सबै दलको सुझाव रहेको उनको भनाइ छ ।

त्यस्तै एमालेका नेता गुरु बरालले निर्वाचन गर्न निष्पक्ष, भयरहीत वातावरण बनाउनुपर्नेमा सरकारले त्यस्तो वातावरण बनाउन नसकेको धारणा राखे ।

त्यस्तै माओवादी नेता देव गुरुङले तोकिएको समयमा निर्वाचन हुनुपर्नेभएपनि सरकारले निर्वाचनको वातावरण बनाउनेमा आशंका उत्पन्न भएको बताए । सरकारले दलहरुलाई विश्वासमा लिएर निर्वाचनको वातावरण बनाउनुपर्नेमा आफुहरुको जोड रहेको उनले बताए ।

त्यस्तै छलफलमा सहभागी अन्य दलहरुले पनि निर्वाचनमा लागि सरकारले उचित वातावरण बनाउनुपर्ने सुझाव दिएका थिए । आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनका कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गर्ने राजनीतिक दललाई आसन्न निर्वाचनको तयारीको छलफलमा आउन पत्राचार गरेको थियो ।

जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा सरकार गठन र प्रतिनिधिसभाको विघटन भई आगामी फागुन २१ गते निर्धारित निर्वाचनको मिति घोषणा गरिएको थियो ।