पाटन– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अहिलेको परिस्थिति असाधारण र जटिल रहेको उल्लेख गर्र्दै अप्ठ्यारो परिस्थितिमा पार्टीको भूमिका बढेको बताए ।


ADVERTISEMENT


माओवादी केन्द्र ललितपुर महानगरपालिका समितिको आयोजनामा आज महालक्ष्मीस्थानमा भएको नेपाल संवत् ११४६ को उपलक्ष्यमा आयोजित शुभकामना आदनप्रदान, चियापान तथा भेटघाट कार्यक्रममा उनले अहिलेको अवस्थामा पार्टीलाई ठूलो जिम्मेवारी आएकाले १० बुँदे मार्गदर्शन जारी गरिएको बताए ।


ADVERTISEMENT

# # #


“गत भदौ २३ गते जेनजीले बेथिति, भ्रष्टाचार र कुशासनको विरुद्धमा आन्दोलित भएर राजनीति र देशप्रतिको मायाका साथै सुधारका लागि शक्ति प्रदर्शन गरेको हो, तर भदौ २४ गतेको आन्दोलनले देशमा कति खतरनक ढङ्गले गलत प्रवृत्तिको विकास हुँदैछ भन्ने पनि शिक्षा दिएको छ, यो हामीले बुझ्नुपर्छ, त्यसपछि हामी सबैले मुलुकमा राज्यविहीनताको अवस्थालाई अन्त्य गर्न भूमिका निर्वाह गर्यौँ”, उनले भने ।

संयोजक प्रचण्डले जेनजी आन्दोलनका माग पनि पार्टीकै माग भएकाले आफूहरुले समर्थन गरेको उल्लेख गर्दै युवाको चाहाना र भावनाअनुसार पार्टी रुपान्तरण हुनुपर्नेमा जोड दिए ।

“परिवर्तित परिस्थितिमा पनि रुपान्तरण हुने पार्टी माओवादी हो, जेनजी युवासँग पनि निरन्तर संवाद र छलफल भइरहेको छ, संविधान संशोधन गरेर उनीहरूले बुझ्नुपर्छ, क्रान्तिकारीहरूले दुष्मन र मित्र चिन्नुपर्छ, यो कुरा नवयुवाहरूले बुझ्नुपर्छ”, उनले भने ।

उहाँले सुशासन, सामाजिक न्याय, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको विषयमा आमजनता र युवालाई बुझाउन आवश्यक रहेको बताए । “लेनिनले भनेको जस्तो क्रान्तिकारी पार्टीले र नेताले मात्र गल्ती स्वीकार गर्छन्, बुर्जुवा र प्रतिक्रान्तिहरूले गल्ती स्वीकार गर्दैनन्, जनताको नेतृत्व गर्ने पार्टीका रूपमा हामी फेरि रुपान्तरण हुनुपर्नेछ, भ्रष्टाचारीको संरक्षण गर्नेहरू र क्रान्तिकारीहरू एकै हैनन्”, उनले भने ।

केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य एवं पूर्वमन्त्री पम्फा भुसालले जनताका अधिकतम अधिकारलाई प्रत्याभूति गर्ने संविधान लेखेको उल्लेख गरे । उनले समाजवादी जनक्रान्ति सफल बनाउन जेनजी समूहका नवयुवा पुस्ताले गरेको मागअनुसारको सुशासन र समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै लैजानुपर्नेमा उनको जोड थियो ।