हेटौंडा– बागमती प्रदेशका माननीय मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले सिद्धान्त र व्यवहारबीचको दूरी हटाए मात्र गुणस्तरीय शिक्षामा सुधार सम्भव रहेको बताए ।
प्रदेश सरकारको उच्चशिक्षा परिषद्को बैठक हिजो मुख्यमन्त्री बानियाँको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले उच्च शिक्षामा गुणस्तर र व्यवहारिक सुधारमा जोड दिनुपर्ने बताए। मन्त्री बानियाँले भने, “गुणस्तरीय छ भनेर मात्र होइन, हाम्रो व्यवहार पनि त्यसअनुसार हुनुपर्छ। कुरा राम्रो गर्ने तर व्यवहारमा नराम्रो गर्ने प्रवृत्तिले शिक्षा क्षेत्रमा समस्या ल्याएको छ। यही कारणले विद्यार्थीले आन्दोलनहरू गर्न बाध्य हुन्छन् । जस्तै जेन्जी आन्दोलन, जन्मिएका हुन्।”
मुख्यमन्त्री बानियाँले सिद्धान्त र व्यवहारबीचको दूरी हटाएर मात्र शिक्षामा सुधार सम्भव हुने बताउँदै शिक्षालाई उत्तरदायी र जनमुखी बनाउन सबै पक्ष सहकार्य गर्नुपर्नेमा जोड दिए ।
बैठकले आंगिक कलेज छनोट सम्बन्धी मापदण्ड २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ। साथै, बागमती प्रदेश विश्वविद्यालयसँग सम्बन्धित आर्थिक, प्रशासनिक र शैक्षिक विनियमहरू पनि स्वीकृत भएका छन्। त्यस्तै, बागमती प्रदेश विश्वविद्यालय विधान २०८१ संशोधनको प्रस्ताव मन्त्रालयपरिषदमा पेश गर्ने निर्णय समेत बैठकले गरेको छ।
बैठकले उच्चशिक्षा क्षेत्रको नीतिगत र संरचनात्मक सुधारका लागि आगामी कदमहरू तय गर्दै बागमती प्रदेशमा शिक्षाको गुणस्तर वृद्धि गर्ने दिशामा अग्रसर हुने प्रतिबद्धता जनाएको छ।
बैठकमा बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री तथा परिषद्का उपाध्यक्ष माननीय कन्चनचन्द्र वादे सहित सम्बन्धित अधिकारीहरू सहभागी थिए।


























































