काठमाडौं- नेपाल र भारतका सीमा सुरक्षा निकायबीच सीमा सुरक्षा व्यवस्थापन, सुरक्षा चुनौती तथा रणनीतिक अभ्यासबारे अनुभव आदान–प्रदान गरिएको छ।


ADVERTISEMENT


मंगलबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हलचोकमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) का आन्तरिक सुरक्षा तथा रणनीति व्यवस्थापनसम्बन्धी तालिममा सहभागी डीआईजीहरूको वैदेशिक अध्ययन भ्रमणका क्रममा प्रस्तुतीकरण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो।


ADVERTISEMENT

# # #


कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालले सीमा सुरक्षा, समग्र सुरक्षा व्यवस्थापन, सीमावर्ती क्षेत्रमा सञ्चालन गरिएका सुरक्षा गतिविधि तथा अन्तर्राष्ट्रिय सीमा व्यवस्थापनका विषयमा प्रस्तुतीकरण गरेको थियो।

यस्तै, सीमा क्षेत्रमा देखिने विभिन्न सुरक्षा चुनौतीको सामना गर्न अपनाइएका अभ्यास, प्राप्त अनुभव तथा असल कार्यशैलीबारे दुवै सुरक्षा निकायका अधिकारीबीच छलफल भएको थियो।

अन्तरक्रियाका क्रममा सीमा सुरक्षासम्बन्धी रणनीतिक विषय, आपसी सहकार्य, समन्वय तथा व्यावसायिक अनुभव आदान–प्रदानमा समेत जोड दिइएको थियो।

कार्यक्रमको मुख्य उद्देश्य नेपाल र भारतका सीमा सुरक्षा निकायबीचको सहकार्य तथा समन्वयलाई थप सुदृढ गर्दै सीमा सुरक्षा व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउनु रहेको सशस्त्र प्रहरी बलले जनाएको छ।

नेपाल र भारतबीचको सीमा सुरक्षालाई थप मजबुत बनाउन यस्ता कार्यक्रमले दुवै देशका सुरक्षा निकायबीच साझा अनुभव, असल अभ्यास र रणनीतिक समझदारी विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।