काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापाको नेतृत्वमा रहेको तत्कालीन राप्रपा नेपालबीच भएको एकता सात महिना नपुग्दै संकटमा परेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र कमल थापाबीच बढ्दो मतभेदले पार्टीभित्र फेरि विभाजनको चर्चा चुलिएको छ।


ADVERTISEMENT


विशेषगरी बागमती प्रदेशको सत्ता समीकरणलाई लिएर दुई नेताबीचको विवाद उत्कर्षमा पुगेको हो। पार्टीको केन्द्रीय निर्णयविपरीत एमाले नेतृत्वको सरकारलाई समर्थन गर्ने समूहलाई कमल थापाले साथ दिएको भन्दै लिङ्देन पक्ष असन्तुष्ट बनेको छ।


ADVERTISEMENT

# # #


लिङ्देन पक्षले थापामाथि पार्टी हितविपरीत गतिविधि गरेको, पार्टी नेतृत्वलाई सार्वजनिक रूपमा चुनौती दिएको तथा पार्टीभित्र विभाजनकारी भूमिका खेलेको आरोप लगाएको छ। स्रोतका अनुसार, पछिल्लो विवादपछि अध्यक्ष लिङ्देन कमल थापासँगको पार्टी एकता भंग गर्ने विषयमा आन्तरिक छलफलमा जुटेका छन्।

बागमती प्रदेशका मुख्यमन्त्री नियुक्तिसम्बन्धी मुद्दामा बहसका लागि लिङ्देन हाल हेटौँडा पुगेका छन्। उनी बहस सकेर काठमाडौं फर्किएपछि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएर पार्टी एकताबारे निर्णय लिने तयारीमा रहेको स्रोतको दाबी छ।

यता, कमल थापाले भने लिङ्देनको कार्यशैलीमाथि लगातार प्रश्न उठाउँदै आएका छन्। उनले पार्टीभित्र पर्याप्त संवाद नगरी निर्णय र कारबाही भइरहेको भन्दै नेतृत्वको शैलीलाई ‘अधिनायकवादी’ भन्दै आलोचना गरेका छन्।

बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि गरिएको कारबाहीको विरोध गर्दै कमल थापाले उक्त निर्णयलाई पूर्वाग्रहपूर्ण भएको टिप्पणीसमेत गरेका छन्। उनले हतारमा कारबाही गर्नुको सट्टा पहिले छानबिन गर्नुपर्ने प्रस्ताव आफूले राखे पनि बेवास्ता गरिएको दाबी गरेका छन्।

लिङ्देन पक्ष भने थापाले सुरुदेखि नै पार्टीभित्र फरक धार समात्दै आएको आरोप लगाउँछ। एकता भएपछि पनि पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक बहिष्कार गर्ने, पार्टी निर्णयभन्दा फरक गतिविधि गर्ने र सार्वजनिक रूपमा नेतृत्वको आलोचना गर्ने काम भएको उनीहरूको आरोप छ।

एकता भयो, कानुनी वैधानिकता अझै छैन

गत पुस १६ गते तामझामका साथ राप्रपा र राप्रपा नेपालबीच एकता घोषणा गरिएको थियो। तर, सात महिना बितिसक्दा पनि उक्त एकताले निर्वाचन आयोगबाट कानुनी वैधानिकता पाउन सकेको छैन।

आवश्यक कागजात तथा विवरण अपुग रहेको भन्दै निर्वाचन आयोगले थप प्रक्रिया पूरा गर्न दुवै पक्षलाई पत्राचार गरेको थियो। कानुनी प्रक्रिया नै टुंगिन नपाउँदै नेतृत्वबीचको विवाद चर्किएपछि एकताको भविष्य थप अन्योलमा परेको छ।

पार्टीभित्रका नेताहरूका अनुसार अब कुनै नाटकीय राजनीतिक सहमति नभए थापा र लिङ्देनबीचको दूरी थप बढ्ने र एकता भंगको निर्णयले औपचारिकता पाउन सक्ने सम्भावना छ।

बागमती प्रदेशको सत्ता विवादबाट सुरु भएको थापा–लिङ्देन टकराव अब पार्टी एकताको भविष्यसँग जोडिएको छ। सात महिनाअघि उत्साहका साथ घोषणा गरिएको एकता अब जोगिने कि फेरि विभाजनको बाटोमा जाने भन्ने प्रश्न राप्रपा राजनीतिमा पेचिलो बनेको छ।