काठमाडौं – एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ सञ्चालकको रूपमा दिवाकर भट्टराईलाई नियुक्त गरेको छ।
संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको निर्णयअनुसार भट्टराईलाई संस्थापक समूहका प्रतिनिधि सञ्चालकका रूपमा मनोनयन गरी पठाइएको थियो। सो निर्णयका आधारमा लघुवित्त वित्तीय संस्थाको मिति २०८२ असोज १९ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई आगामी वार्षिक साधारण सभासम्मका लागि सञ्चालक पदमा नियुक्त गरेको हो।
यसअघि सो पदमा सञ्चालक सुमन थपलिया संस्थापक समूहको तर्फबाट एनआईसी एशिया बैंक लिमिटेडको प्रतिनिधित्व गर्दै कार्यरत थिए ।
नव–नियुक्त सञ्चालक दिवाकर भट्टराईले संस्थाका अध्यक्ष प्रकाश राज शर्मासमक्ष शपथ ग्रहण गरी आफ्नो पदभार ग्रहण गरेका छन् ।
बैंकिङ क्षेत्रमा करिब १६ वर्षको अनुभव भएका भट्टराई हाल एनआईसी एशिया बैंक लिमिटेडमा वरिष्ठ पदमा कार्यरत छन्। उनको दीर्घ अनुभव र नेतृत्व क्षमताबाट संस्थाले तय गरेको लक्ष्य हासिल गर्न तथा एनआईसी एशिया लघुवित्तलाई देशका अग्रणी, सबल र सशक्त लघुवित्त वित्तीय संस्थामध्ये एक बनाउने लक्ष्यमा थप गति प्राप्त हुने संस्थाले विश्वास व्यक्त गरेको छ।


























































