काठमाडौं– कोशी प्रदेश प्रहरीले धनकुटा र भोजपुर जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा लगाइएका तथा प्राकृतिक रूपमा उम्रिएका गाँजाका बोटहरू फडानी गरी नष्ट गरेको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तर्गत सञ्चालन गरिएको कार्यवाहीमा, इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको टोलीले धनकुटाको शहीदभूमि गाउँपालिका–५ स्थित करिब ५ रोपनी क्षेत्रफलमा रहेका करिब १० हजार वटा गाँजाका बोट फडानी गरी नष्ट गरेको हो।
त्यसैगरी, इलाका प्रहरी कार्यालय राजारानीको टोलीले चौबिसे गाउँपालिका–५ डाँडाखर्कमा करिब ३ रोपनी क्षेत्रफलमा रहेका ४ सय वटा गाँजाका बोट नष्ट गरेको जनाएको छ।
उता भोजपुर जिल्लामा पनि अवैध गाँजा खेती विरुद्धको अभियान अन्तर्गत इलाका प्रहरी कार्यालय घोडेटार, प्रहरी चौकी हसनपुर र अस्थायी प्रहरी चौकी दुम्मानाबाट खटिएको टोलीले हतुवागढी र आम्चोक गाउँपालिकाका विभिन्न वडामा फैलिएको करिब १० रोपनी जग्गामा रहेका १ हजार ५० वटा गाँजाका बोट फडानी गरी जलाएर नष्ट गरेको जनाएको छ।
प्रहरीका अनुसार अवैध गाँजा खेती नियन्त्रण गर्ने अभियान निरन्तर रूपमा अघि बढाइने र यस प्रकारका अवैध गतिविधिमा संलग्न व्यक्तिहरू विरुद्ध कानूनी कारबाही गरिने चेतावनी समेत दिइएको छ।


























































