– आरएस भण्डारी
मैँले २०५१ सालमा एसएलसी पास गरेर काठमाडौं आएको थिएँ। बिहान कलेज पढ्थेँ र दिउँसो स्वास्थ्य व्यवसायसँग सम्बन्धित काम गर्थेँ। सात वर्षको कामको अनुभव लिएर २०५८ सालमा मैँले आफ्नै स्वास्थ्य व्यवसाय सुरु गर्ने निर्णय गरेँ। त्यतिबेला “सर्जिकल हाउस” नामको व्यवसाय सुरु गरेको थिएँ, जुन निकै सफल पनि भयो।
विसं २०६५ सालतिर सिन्धुपालचोकको खाडीचौरमा स्थानीय बासिन्दाको अनुरोधमा मैँले र मेरा साथीहरूले मिलेर पहिलो अस्पताल स्थापना गर्यौँ। त्यो अस्पताल अहिले पनि सञ्चालनमा छ। त्यसपछि मेरो मेडिकल व्यवसाय पनि राम्रोसँग चलिरहेको थियो।
करिब ३० वर्षदेखि सेवा दिँदै आएको ह्याम्स अस्पताल विभिन्न कारणले बन्द हुने अवस्थामा पुगेको थियो। त्यही समयमा साथीहरूले पनि सल्लाह दिए, अनि म स्वयं पनि स्वास्थ्य क्षेत्रमा रहेकाले २०७२ सालमा ह्याम्स अस्पतालको टेकओभर गरेँ। अहिले पनि अस्पताल राम्रोसँग सञ्चालनमा छ।
करिब एक वर्षअघि थाहा पाएँ कि भक्तपुरको पुरानो “नागरिक अस्पताल” बन्द हुने अवस्थामा पुगेको रहेछ। अनुसन्धान गर्दा थाहा भयो — काठमाडौं, ललितपुर र भक्तपुर मध्ये सबैभन्दा कम अस्पताल भक्तपुरमा छन्।
भक्तापुरमा विभिन्न हिसाबले पनि जनसंख्या बढी छ । तर आपत्कालीन अवस्थामा बिरामीहरूलाई काठमाडौं पुर्याउन धेरै समय लाग्ने रहेछ। ट्राफिक जाम र तत्कालीन सुविधा नहुँदा कतिपय बिरामीको बाटोमै ज्यान गएको सुनेर म निकै दुःखी भएँ।
त्यसैले, भक्तपुरमा दोस्रो ह्याम्स अस्पताल स्थापना गर्ने योजना बनाएँ। यो अस्पताल प्रविधिक हिसाबले, जनशक्तिको हिसाबले, र भौतिक संरचनाको हिसाबले पनि आधुनिक बनाउने हाम्रो लक्ष्य छ। भविष्यमा हेलिप्याड समेत रहने योजना छ।
स्वास्थ्य क्षेत्र मेरो जीवनको अभिन्न हिस्सा हो। कुनै बिरामी मृत्युको मुखबाट बचाएर घर पठाउन पाउँदा जुन आनन्द मिल्छ, त्यो कुनै पनि अन्य व्यवसायमा पाइँदैन।
स्वास्थ्य क्षेत्र भनेको “जीवन दान” हो। यही कारणले म यो क्षेत्रमा निरन्तर लागिरहेको छु। सरकारले सहयोग नगरे पनि, म आफ्नो कर्मलाई निरन्तर अगाडि बढाउनेछु। मैले बुझें — सही कर्म गर्ने मानिसले अरूलाई मात्रै होइन, आफूलाई पनि ठूलो सन्तोष दिन सक्छ। स्वास्थ्य सेवा भनेको केवल व्यवसाय होइन, मानवताको सेवा हो।
अब म अन्य क्षेत्रमा जान चाहन्नँ। जति सकिन्छ, आफ्नै देशका नागरिकका लागि नयाँ प्रविधि र गुणस्तरीय स्वास्थ्य सेवा ल्याउने मेरो इच्छा हो। विश्वमा प्रयोग भइरहेका आधुनिक प्रविधि नेपालमा ल्याएर सबै रोगका बिरामीलाई उपचार दिन सकियोस् भन्ने मेरो लक्ष्य छ।
सरकारले र निजी क्षेत्रले मिलेर स्वास्थ्य क्षेत्रमा काम गर्न सके देशले तीव्र प्रगति गर्छ। हामी सबैको लक्ष्य एउटै हो — नागरिकलाई समयमै, गुणस्तरीय र सस्तो स्वास्थ्य सेवा उपलब्ध गराउने भन्नेमा म निरन्तर लागिरहनेछु।
(ह्याम्स अस्पतालका अध्यक्ष भण्डारीसँग गरिएको कुराकानीमा आधारित)


























































