काठमाडौँ – आगामी फेब्रुअरी र मार्चमा भारत र श्रीलंकामा हुने आईसीसी पुरुष टी–२० विश्वकप प्रतियोगितामा नेपाल समूह ‘सी’मा परेको छ । आईसीसीले मंगलबार सार्वजनिक गरेको समूह विभाजन अनुसार नेपाल समूह ‘सी’मा परेको हो ।
नेपाल परेको समूहमा दुई–दुई पटक टी–२० विश्वकप विजेता राष्ट्रहरु वेष्ट इण्डिज र इंगल्याण्ड रहेका छन् । यस्तै बंगलादेश र इटाली समेत नेपालकै समूहमा रहेका छन् । २० राष्ट्र सहभागि हुने विश्वकपमा ५–५ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ ।
जस अनुसार समूह ‘सी’ बाहेक समूह ‘ए’मा आयोजक भारत, पाकिस्तान, संयुक्त राज्य अमेरिका, नेदरल्याण्ड्स, नामिबिया रहेका छन् भने समूह ‘बी’मा आयोजक श्रीलंका, अष्ट्रेलिया, आयरल्याण्ड, जिम्बाब्वे, ओमान रहेका छन् ।
यस्तै समूह ‘डी’मा न्यूजील्याण्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा, युएई रहेका छन् ।
खेल तालिका, फर्म्याट र स्थान
भारत र श्रीलंकाले सह–आयोजना गर्ने प्रतियोगिता फेब्रुअरी ७ मा सुरु भएर मार्च ८ मा समाप्त हुनेछ । बहुप्रतिक्षित भारत–पाकिस्तान खेल फेब्रुअरी १५ मा कोलम्बोको आर प्रेमदासा स्टेडियममा हुनेछ।
प्रतियोगिताको फाइनल मार्च ८ मा अहमदाबादमा खेलिनेछ, जबकि सेमिफाइनल–१ कोलकाता वा कोलम्बो (सेमिफाइनल, सेमिफाइनलमा पाकिस्तान छनोट हुन्छ कि हुँदैन भन्ने आधारमा तय हुने) र सेमिफाइनल–२ मुम्बईमा मा हुनेछन्।
खेल हुने अन्य स्थानहरूमा भारतको दिल्ली र चेन्नई र श्रीलंकाको क्यान्डी छन्। आर प्रेमादासा रंगशाला र कोलम्बोको सिंहली स्पोर्ट्स क्लब दुवैले खेल आयोजना गर्नेछन्। प्रतियोगिताको फर्म्याट यसअघि सन् २०२४ कै अनुसार हुनेछ । प्रत्येक समूहका उत्कृष्ट दुई टोली सुपर–८ मा प्रवेश गर्नेछन् ।
प्रतियोगिताको फर्म्याट यसअघि सन् २०२४ कै अनुसार हुनेछ । प्रत्येक समूहका उत्कृष्ट दुई टोली सुपर–८ मा प्रवेश गर्नेछन् । समूह चरणका खेलहरु फेब्रुअरी ७ देखि फेब्रुअरी २० सम्म चल्नेछन् ।
चार समूहका प्रत्येक शीर्ष दुई टोलीहरू फेब्रुअरी २१ देखि मार्च १ सम्म सुपर आठ चरणमा पुग्नेछन् । जहाँ उनीहरूलाई ४–४ टोलीको दुई समूहमा विभाजन गरिनेछ। त्यसमा प्रत्येक समूहका शीर्ष दुई टोलीहरू सेमिफाइनलको लागि छनोट हुनेछन् ।
सेमिफाइनल जित्ने टोली उपाधिका लागि भिड्नेछन् ।
नेपालको तालिका
समूह चरणमा नेपालका सबै खेल भारतको मुम्बईमा हुनेछन् । जहाँ नेपालले पहिलो खेल इंग्ल्याण्डविरुद्ध खेल्नेछ । जुन ८ फेब्रुअरीमा हुनेछ । नेपालले समूह चरणको अन्तिम खेल भने १७ फेब्रुअरीमा बंगलादेशविरुद्ध खेल्नेछ ।
८ फेब्रुअरी २०२६ – इंग्ल्याण्डविरुद्ध (स्थान : मुम्बई)
१२ फेब्रुअरी २०२६ – इटालीविरुद्ध (स्थान : मुम्बई)
१५ फेब्रुअरी २०२६ – वेष्ट इण्डिजविरुद्ध (स्थान : मुम्बई)
१७ फेब्रुअरी २०२६ – बंगलादेशविरुद्ध (स्थान : मुम्बई)


























































