काठमाडौं – विगत २५ वर्षदेखि शिक्षा, स्वास्थ्य, सरसफाइ, वातावरण तथा समुदाय–केन्द्रित कार्यक्रममार्फत सामाजिक रुपान्तरणको अभियानमा सक्रिय रहँदै आएको ग्रामिण महिला उत्सुकता विकास मञ्च नेपाल (फरवार्ड नेपाल) प्राविधिक सहयोगमा निर्माण गरेको १०० वटा सुरक्षित आवास आज औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।
अन्तर्राष्ट्रिय दातृ संस्था चूजी बुद्धिष्ट फाउण्डेसन को आर्थिक सहयोगमा सुनसरीको दुहवी नगरपालिका, गढी गाउँपालिका, बर्जु गाउँपालिका तथा इनरुवा नगरपालिका क्षेत्रका गरिब, विपन्न, दलित तथा मुसहर समुदायका भूमिहिन परिवारका लागि यी आवास निर्माण गरिएको हो।
यो परियोजना २०८१ कार्तिक १६ गते शिलान्यास गरिएको थियो र २०८२ मंसिर ९ गते १०० घर निर्माण सम्पन्न भई हस्तान्तरण गरिएको हो।
गढी गाउँपालिका–२ मा ४० घर, बर्जु गाउँपालिका–१, ३, ५ मा ३० घर, इनरुवा नगरपालिका–७ मा १६ घर, दुहवी नगरपालिका–१ मा १४ घर, गरी कुल १०० वटा सुरक्षित आवास निर्माण सम्पन्न भएको मञ्चले जनाएको छ। निर्माण गरिएका घरहरू आधुनिक र परिवारमैत्री संरचनामा तयार गरिएको छ।
घरसँगै राहत सामग्री वितरण
घर हस्तान्तरणसँगै प्रत्येक परिवारलाई राहत सामग्री पनि वितरण गरिएको छ ।
२ वटा ब्लाङ्केट,
१ बोरा चामल,
५ लिटर तेल,

अन्य खाद्यान्न तथा अत्यावश्यक सामग्री समेत प्रदान गरिएको थियो, जसले नयाँ घरसँगै तिनका आधारभूत दैनिक आवश्यकतामा सहयोग पुगेको छ।




























































