काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सक्रिय रुपमा सहभागी हुन एमाले नेताहरुलाई आग्रह गरेकी छन् ।


ADVERTISEMENT


बिहीबार प्रधानमन्त्री निबास बालुवाटारमा एमालेका नेताहरुसंग छलफल गर्दै प्रधानमन्त्री कार्कीले तोकिएको समयमा नै निर्वाचन गर्न सरकार गम्भीर भएर लागेको भन्दै निर्वाचनमा सक्रिय रुपमा सहभागी हुन आग्रह गरेकी हुन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीको आग्रहमा एमाले नेताहरुले निर्वाचनको उचित वातावरण बने आफूहरु भाग लिन तयार रहेको बताएको एमाले नेता महेश बर्तौलाले जानकारी दिए । उनले लोकतान्त्रिक मूल्यमान्यतालाई जीवन्त बनाउन लामो समय संघर्ष गरेको पार्टी जनताका बीचमा परीक्षण हुने कुरामा कहिल्यै विरोध नगर्ने जवाफ दिएको बताए ।

उनले चुनावका लागि आफूहरूले वातावरण खोजिरहेको भन्दै सरकारले सुरक्षा लगाएतका विषयमा गम्भीर भएर काम गर्नुपर्ने बताए । उनले संसद पुनस्थापनाका विषयमा अदालतले संवैधानिक परीक्षणको बाटो टुंग्याएपछि सबै विषय निर्धारण हुने जिकिर गरे ।

छलफलपछि सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्रीले औपचारिक रुपमा निर्वाचनमा सहभागी हुन आग्रह गरेको जानकारी दिए । एमाले नेताहरुले आफुहरु निर्वाचनबाट नभाग्ने र सरकारले निष्पक्ष रुपमा निर्वाचन गर्ने वातावरण बनाए भाग लिने बताएको खरेलले बताए । उनले चूनावका सन्दर्भमा देखिएका आशंकाहरु एमाले नेताहरुसंग भेटेपछि धेरै कम भएको महसुस भएको उल्लेख गरे ।

छलफलमा एमालेका तर्फबाट महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र युवा नेता महेश बर्तौला सहभागी भएका थिए ।