काठमाडौँ – काठमाडौँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा पोखरा एभेन्जर्सले पहिलो जित हात पारेको छ । पोखराले बिहीबार डिफेण्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई २५ रनले हराएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको जनकपुर ओभरमा ८ विकेट गुउमाँदै १३० रनमै समेटिएको हो ।
जनकपुरका लागि नवौँ नम्बरका वायन पर्नेलले सर्वाधिक ५० रन बनाए । रिटायर्ड हर्ट हुनुअघि उनले ३८ बलमा २ चौका र ४ छक्का प्रहार गरे । यस्तै सञ्जय कृष्णमूर्तिले २५ तथा माज सदकादले २० रन बनाउनुबाहेक जनकपुरका अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् ।
जनकपुरलाई सस्तैमा समेट्ने क्रमा पोखराका विपीन खत्रीले शानदार बलिङ गरे । सो क्रममा ४ ओभर बलिङ गरेका उनले १५ रन मात्रै खर्चिएर महत्वपूर्ण ४ विकेट लिएपछि जनकपुर दबाबमा आएको थियो । यस्तै सुमित बर्माले २ तथा कप्तान कुशल भुर्तेल र जेम्स निश्शमले समान १–१ विकेट हात पारे ।
यसअघि ब्याटिङतर्फ पोखराका लागि मध्यम स्कोर खडा गर्ने क्रममा सुमित बर्माले सर्वाधिक ५० रन बनाए । सोक्रममा उनले २९ बलमा ३ चौका र ४ छक्का प्रहार गरे ।
यस्तै ओपनर दिनेश खरेल ३८, तृतराज दासले २९ तथा अदाम रसिंग्टनले २४ रन बनाउँदा अन्यले दोहोरो अंक छुन सकेनन् । बलिङतर्फ जनकपुरका सञ्जय कृषमूर्तिले सर्वाधिक ३ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २१ रन खर्चिए । यस्तै अनिल शाह र ललित राजवंशीका नाममा समान १–१ विकेट रह्यो ।
एनपीएलमा भोलि दिउँसो ११ः४५ बजे चितवन राइनोज र काठमाडौँ गोर्खाज् तथा अपराह्न ४ः०० बजे विराटनगर किंग्स र कर्णाली याक्स भिड्दैछन् ।


























































