काठमाडौँ – काठमाडौँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध जित हात पारेको छ । मंगलबार भएको खेलमा पोखराले कर्णालीलाई ३४ रनले हराएको हो । आजको हारसँगै कर्णाली एनपीएलको प्रतिस्पर्धाबाट बाहिरिएको छ ।


ADVERTISEMENT


मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २०१ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको कर्णाली १९ ओभरमा सबै विकेट गुमाउँदै १६७रनमै समेटिएको हो ।


ADVERTISEMENT

# # #


कर्णालीका लागि मार्क वाटले अर्धशतकीय पारी खेले । सोक्रममा उनले ३४ बलमा ४ चौका र ५ छक्का प्रहार गर्दै सर्वाधिक ५९ रन बनाए । यस्तै नजिबुल्लाह जदरानले २४ तथा पवन सर्राफले १९, प्रियांक पञ्चलले १६, कप्तान सोमपाल कामीले १३ रन बनाउँदा दीपेन्द्र रावतले १० रन जोडे ।

बलिङतर्फ पोखराका ऋषि धवनले सर्वाधिक ३ विकेट लिए । आजै एनपीएलमा डेब्यू गरेका उनले ४ ओभरमा ३७ रन खर्चिए । यस्तै धनञ्जय लक्षणले पनि ४ ओभरमा ३१ रन खर्चिँदै समान ३ विकेट नै हात पारे ।

किरण ठगुन्ना, सन्दीप क्षेत्री र कप्तान कुशल भुर्तेलले समान १–१ विकेट हात पारे ।

यसअघि पोखरालाई विशाल योगफलतर्फ पुर्याउने क्रममा रसिंग्टनले शानदार ब्याटिङ गर्दै शतक प्रहार गरे । एनपीएलको दोस्रो संस्करणमा शतक बनाउने दोस्रो खेलाडी बनेका उनले ५८ बलमा ११ चौका र ७ छक्का प्रहार गर्दै नटआउट १०८ रन बनाए ।

यस्तै जासन रोयले आफ्नो डेब्यू खेलमै ४६ रनको योगदान दिए । सोक्रममा उनले ३४ बलमा २ चौका र ३ छक्का प्रहार गरे । यस्तै कप्तान कुशल भुर्तेल १८ रनमा आउट हुँदा धनञ्जय लक्षणले ११ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै नटआउट २३ रन जोडे ।

यससँगै एनपीएलको इतिहासमै दोस्रो पटक कुनै पनि टोलीले २ सयमाथिको चुनौती दिएको हो । यसअघि विराटनगर किंग्सले पोखराविरुद्ध २२० रन बनाएको थियो ।

बलिङतर्फ कर्णालीका नन्द्यन यादव र मार्क वाटले समान १–१ विकेट हात पारे । अन्य बलर भने निरीह भए ।

एनपीएलको पहिलो सिजनमा तेस्रो स्थान हासिल गरेको कर्णाली दोस्रो सिजनमा प्रतिस्पर्धाबाट बाहिरिने पहिलो टोली बनेको छ । कर्णालीले ६ खेलमध्य १ खेलमा मात्रै जित र ५ खेलमा हार व्यहोर्दै २ अंक मात्रै बटुलेको छ । उसले अब आइतबार एनपीएलको अन्तिम खेल जनकपुर बोल्टस्सँग खेल्नेछ ।

यता आजको जितसँगै पोखराले भने प्लेअफको सम्भावना जीवितै राखेको छ । अघिल्लो संस्करणमा ८ टोलीमध्ये आठौँ बनेको पोखराले यसपटक ५ खेल खेल्दा २ जित र ३ हार व्यहोर्दै ४ अंकका साथ चौथो स्थानमा उक्लिएको छ ।

अब उसले काठमाडौँ गोर्खाज् र चितवन राइनोजविरुद्ध खेल्न बाँकी छ ।