काठमाडौँ – निर्यात व्यवसायी महासङ्घले निर्यात अनुदान रोकिएको भन्दै अर्थमन्त्री रामेश्वर खनालको ध्यानाकर्षण गराएको छ ।


ADVERTISEMENT


महासङ्घका अध्यक्ष गोविन्दप्रसाद घिमिरे नेतृत्वको टोलीले आज अर्थमन्त्री खनाललाई भेटेर निर्यात अनुदान रोकिएको विषय तथा निर्यात क्षेत्रमा देखिएका समस्याबारे ध्यानाकर्षण गराएको हो ।


ADVERTISEMENT

# # #


महासङ्घले निर्यात अनुदान रोकिँदै आएको अवस्था, प्राविधिक तथा प्रशासनिक अवरोध, निर्यात प्रवर्द्धनसँग सम्बन्धित नीतिगत समस्याको समाधानका लागि अर्थमन्त्रीलाई आग्रह गरेको अध्यक्ष घिमिरेले बताए ।

जवाफमा अर्थमन्त्री खनालले निर्यात क्षेत्रमा देखिएका समस्या समाधानका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे । उनले उद्योग तथा व्यापारीले उठाएका विषयमा सरकारको सकारात्मक ध्यानाकर्षण भएको बताए ।

भेटमा पूर्वसांसद गणेश पराजुली, नेपाल उद्योग वाणिज्य महासङ्घका निर्यात सभापति नरेशलाल श्रेष्ठ, हस्तकला महासङ्घका वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, साना तथा घरेलु उद्योग महासङ्घका उपाध्यक्ष शान्ता बाँस्कोटा कोइराला, निर्यात व्यवसायी महासङ्घका उपाध्यक्ष किरण डङ्गोललगायतको सहभागिता रहेको थियो ।