काठमाडौँ – लुम्बिनी लायन्स काठमाडौँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ । शुक्रबार भएको निर्णायक खेलमा जनकपुरलाई ४ विकेटले हराउँदै लुम्बिनी पहिलो पटक एनपीएलको प्लेअफमा प्रवेश गरेको हो ।
जनकपुर हारसँगै जनकपुरसँगै चितवन राइनोज र पोखरा एभेन्जर्सको समेत प्लेअफ पुग्ने सपना समाप्त भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर पहिले ब्याटिङको गर्ने निर्णय गरेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३२ रन बनायो ।
जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले १९.१ ओभरमा ६ विकेट गुमाउँदै जित हात पारेको हो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाए । सोक्रममा उनले ३२ बलमा २ चौका र १ छका प्रहार गरे । यस्तै डार्सी सर्टले २४ बलमा १ चौका र २ छक्का प्रहार गर्दै ३० रनको योगदान दिए ।
यस्तै जेजे स्मितले १९ बलमा १ चौका र १ छक्काको मदतमा २१ रन बनाउँदा निरोशन डिक्वेल्लाले ११ रन जोडे ।
बलिङतर्फ जनकपुरका संगीत कूरेले सर्वाधिक ३ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २५ रन खर्चिए । यस्तै मयन यादवले १ ओभरमा ३ रन मात्रै लिएर महत्वपूर्ण २ विकेट लिए । उनले १२औँ ओभरमा लुम्बिनीका कप्तान रोहित पौडेल र सन्दीप जोरालाई आउट पारेपछि लुम्बिनी दबाबमा आएको थियो । यस्तै सञ्जय कृष्णमूर्तिका नाममा १ विकेट रह्यो ।
यसअघि मध्यम स्कोर बनाउने क्रममा जनकपुरका लागि संगीत कूरेले सर्वाधिक ४५ रन बनाए । नटआउट रहेका उनले ३८ बलमा २ चौका र १ छक्का प्रहार गरे । यस्तै मयन यादवले २३ बलमा १ चौका र १ छक्का प्रहार गर्दै २७ रन बनाएर नटआउट रहे । यसअघि ओपनर आशिफ शेख २०, सञ्जय कृष्णमूर्ति १४ तथा शुभ कंशाकार ११ रनमा आउट हुँदा अन्यले दोहोरो अंक छुन सकेनन् ।
जनकपुरलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले समान २–२ विकेट लिए भने रुबेन ट्रम्पलमेन र जेजे स्मिथले समान १–१ विकेट हात पारे ।
यससँगै एनपीएलको प्लेअफमा पुग्ने ४ टोलीको टुंगो लागेको छ । आफूले खेलेका ६ वटै खेल जितेको सुदूरपश्चिम शीर्ष स्थानमा रहँदै क्वालिफायर्स–१ मा पुगेको छ । क्वालिफायर्स–१ मा अर्को टोली काठमाडौँ गोर्खाज र विराटनगर किंग्समध्ये एउटा टोली हुनेछ । क्वालिफायर्स–१ को विजेता टोली फाइनल पुग्नेछ ।
इलिमिनेटरमा लुम्बिनीले काठमाडौँ गोर्खाज र विराटनगर किंग्समध्ये एउटासँग खेल्नेछ । क्वालिफायर्स–१ को विजेता टोली फाइनल पुग्नेछ । हार्ने टोलीले इलिमिनेटरको विजेता टोलीसँग खेल्दै फाइनल प्रवेशका लागि अर्को मौका पाउनेछ ।
एनपीएलमा भोलि पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स भिड्दैछन् । यस्तै दोस्रो खेल चितवन राइनोज र पोखरा एभेन्जर्सबीच हुनेछ ।


























































